डेङ्गु नियन्त्रणमा सामुहिक अग्रसरताको खाँचो
सम्पादकीय
सरकारी तथ्याङ्कले झापाको बिर्तामोड नगरपालिका डेङ्गु संक्रमणको जोखिममा रहेको देखाएको छ । वैशाख यताको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि बिर्तामोड डेङ्गुको उच्च जोखिममा छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको तथ्याङ्कले डेङ्गुको संक्रमण बढ्दै गए थप स्वास्थ्य संकट निम्तिने देखिन्छ । वैशाख यता झापामा ६१ जना संक्रमित भएका छन् । तीमध्ये ५४ जना बिर्तामोड नगर क्षेत्रभित्रका छन् । ९० प्रतिशत भन्दाबढी संक्रमित बिर्तामोडमा हुनु थप चिन्ताको विषय हो । यसबाट बुझ्न सकिन्छ, बिर्तामोड थप जोखिममा छ । अब तथ्याङ्क हेरेर जोखिम छ भनेर मात्रै पुग्दैन । यसका लागि लामखुट्टे नियन्त्रणका सबै उपाय अपनाइनुपर्छ ।
जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो सवालमा नगरपालिकाको अग्रसरता पहिलो र प्राथमिक शर्त हो । यस प्रकारका स्वास्थ्य समस्यामा नगरपालिका एक्लैको प्रयास पर्याप्त र प्रभावकारी हुँदैन । यो सत्यतालाई पनि नागरिक तहले बिर्सनु राम्रो होइन । नगरपालिकाको अग्रसरतामा डेङ्गु नियन्त्रणको साझा रणनीति बन्नुपर्छ । त्यसलाई कार्यान्वयन गर्ने दायित्व नगरवासी नागरिकको हो । मूलत लामखुट्टेको बासस्थान नष्ट गर्ने विषयमा समुदायको सहभागिता अपरिहार्य मानिन्छ । यसका लागि टोलटोलका बासिन्दालाई आफ्नो क्षेत्र वरपर सरसफाई र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सरिक गराइनु पर्छ ।
लार्भा नष्ट गर्ने अभियानलाई हरेक नागरिकले आफ्नो घरबाट सुरु गर्ने हो भने डेङ्गु नियन्त्रण असम्भव छैन । बढ्दो जोखिम घटाउन अपनाउनुपर्ने सबै विधि र प्रक्रिया अपनाउने सन्दर्भमा नागरिक अग्रसर हुने हो भने परिणाम सकारात्मक प्राप्त हुन सक्छ । डेङ्गु नियन्त्रणका लागि विद्यार्थीमार्फत समुदायमा सचेतना अभियान सञ्चालन गर्न सकिन्छ । विद्यार्थीले घरघरमा नियन्त्रणको सन्देश लिएर जान सक्छन् । यसका लागि उनीहरूलाई हरेक विद्यालयले प्रशिक्षित गर्नुपर्छ । सबै वडा कार्यालयहरू, सामाजिक संघसंस्थाको सक्रिय सहभागिताले डेङ्गु नियन्त्रणमा आउन सक्छ । यसका लागि केवल अग्रसरताको खाँचो छ ।