बैशाख १३, २०८१ बिहीबार

कोरोनाको कहरभित्र दुर्गन्धित राजनीति

बासु नेपाल

हाल कोरोना अर्थात कोभिड–१९ को महामारीले विश्वव्यापी रुप लिइरहेको तथा विश्वका सबै मुलुकहरू यसविरुद्ध आ– आफ्नो सामाथ्र्यनुरुप लडिरहेको तीतो यथार्थ सर्वविदितै छ । नेपालमा पनि संक्रमणका केही तथ्यहरु पुष्ठि भएको तथा मुलुक लकडाउनमा गुज्रँदै सो बिरुद्ध संघर्ष गरिरहेको छ । संक्रमितहरु उपचाररत, आशंका गरिएकाहरुको स्वास्थ्य परीक्षण, आइसोलेसन साथै अन्यहरु सबै क्वारेन्टाइनमा बसिरहेको अवस्था विश्वभरका मुलुकहरुले भोगिरहेको र नेपालले पनि सोही परिस्थितिको सामाना गरिरहेको तपाई हामी सम्पूर्ण नेपालीहरुमाझ छर्लङ्ग छ ।

यस्तो दुःखद अवस्थाको सामना गर्दै आफ्ना जनताको जीवनरक्षाको खातिर सबै खाले तयारी गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको लोकप्रिय र जनप्रिय सरकारविरुद्ध केही समय यता नेपथ्यमा योजना बुन्दै श्रृङखलाबद्ध आक्रमण प्रयासहरु भइरहेका छन् । कोरोना बिरुद्ध सरकार बेलैमा सचेत नभएको भए यतिका दिनसम्ममा मुलुकमा कोरोनाको कारण धेरै अप्रिय घटनाहरू भइसकेका हुन्थे । एसईई परीक्षाको पूर्वसन्ध्यामा उक्त परीक्षा स्थगित गरिंदा धेरै स्वाँठहरुले देशव्यापी रोइलो मच्चाउन र ठूलै भ्रमको खेती लाउन भ्याईसकेका थिए । यदि विद्यालय तथा विश्वविद्यालयका परीक्षा तथा कक्षाहरु बेलैमा सम्पन्न वा स्थगित गर्न सरकारले निर्देशन र निर्णय नगरेको भए कस्तो स्थितिको सृजना हुन्थ्यो आज ? ती बज्रस्वाँठहरुको सैतानी खोपडीले सोच्न पनि सक्दैनथ्यो । किनकि, उनीहरु पनि अस्पतालको बेडमा कोरोनासँगको लडाईमा शिथिल भइसकेका हुन्थे ।

कुरा कहानेर प्रष्ट छ भने सरकार विरुद्धको आक्रमण कुनै एक अमुर्त पात्रले नभई प्रवृत्ति, संस्कार र पात्रहरूको सामुहिक झुण्डले गरिरहेको छ । इतिहासका कालखण्डमा यस्ता प्रवृत्ति र संस्कारभित्र विभिन्न अवसरवादी व्यक्तिहरुको आवतजावत र उठबस हुने गर्दछ । तसर्थ सो प्रवृत्ति एउटा ठूलै अवसरवादी, सामन्ती, प्रतिक्रियावादी तथा दुसित राजनीतिक खेलाडीहरुको सामुहिक झुण्ड हो । यसले सदैव सुसंस्कार, सुव्यवस्था, शान्ति तथा स्थायित्वभित्र डुरे मुसो झै छिरेर ढाडे बिरालो बन्ने प्रयत्न गर्छ भने सदैव पानी धमिल्याई माछा मार्ने दुस्साहसी हर्कतहरुलाई निरन्तरता दिन अनेकन हत्कण्डाहरु मच्चाउदै छदमे पाखण्डी खेल खेल्दै आम मानिसहरुलाई अस्थायी दर्शक र पुजारी समेत बनाउन असफल प्रयत्न गर्ने गर्दछ ।

जसरी शुद्वाईको भतेर खान पल्केका स्वादे स्वार्थी जिब्रोहरु सदैव मान्छे मरिरहुन भन्ने घृणित चाहना राख्छन् । त्यसरी नै यी प्रवृत्तिहरु पनि आफ्नो अभीष्ट पुरा गर्न अनेकन बहानामा उपद्रो मच्चाईरहन्छन् । गोकुल माथिको आक्रमण, योगेशमाथिको भद्दा आक्रमण प्रयास, अहोरात्र जनताको स्वास्थ्यको खातिर खटिइरहनुभएका स्वास्थ्यमन्त्रीमाथिको गिद्दे कचेरे आँखाले देखेको कथित भ्रष्टाचारको आरोप तथा पछिल्लो पटक नेपाली सेनालाई समेत विवादित तुल्याउन रचिएका षडयन्त्रबाट उत्पादित असफल आक्रमणका प्रयासहरु मिसन अट्याक्ट अगेन्स्ट केपी एन्ड हिज मेन भन्दा अरु हुनै सक्दैन ।

यसरी नेपालको राजनीतिक इतिहासमा सरकारलाई असफल बनाउन पार्टी तथा सरकारभित्रै छुट्टै प्रतिपक्ष खडा गरेर सरकारले गरेका सबै कामको नकारात्मक प्रचारबाजी गर्ने गरिएको छ । यस्तो प्रचारबाजी सामान्यदेखि जटिल प्रकृतिको हुने गर्दछ । तसर्थ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बढि जनप्रिय र इतिहासकै सर्वाधिक लोकप्रिय भइरहेको अवस्थामा सरकारको सफलतालाई सहन नसकेर भविष्यमा आफू र संबद्धहरुको अस्तित्व समाप्त हुने खतरा देखेपछि बाबुरामलाई प्रम हुँदा, बैद्य तथा चन्दहरुलाई पार्टीमै हुँदा असफल पार्ने पात्रहरुले हाल सोही जटिल प्रकृतिको बखेडा उत्पादन गर्न उक्त प्रतिपक्षभित्र माफिया, दलाल , एजेन्ट, भिजिलान्ते, पुजारी, ढोके, द्वारे, हुक्के, बैठके, गणेशे साथै हनुमाने सहित छुल्याहा, हुल्याहा र भँडुवा प्रवृत्ति समेतको भर्ति गर्दै योजनाबद्ध रुपमा घृणित आक्रमण प्रयास गरिरहेका छन् । सदैव आफु शक्तिमा रहिरहनु पर्ने र आफ्नो कथित शक्तिको पूजा गणेशले झैं गर्नुपर्ने मानसिक रोगले ग्रसित पात्रहरुले हाल क्वारेन्टाइनमा बस्दा खाली भएको शैतानी दिमाग सम्पूर्ण रुपले सरकारको आक्रमण मै खर्चिरहेका छन् ।

तर, यस्ता घृणित रुन्चे खेलाडीहरुको खेल न त मैदान मै बिक्नेछ न त यिनीहरुको नाटक मञ्चन गर्न थिएटर नै खाली गरिनेछ । यस्ताहरुको रडाँको अब सडक नाटकमा सीमित हुनेछ । र, यिनिहरुलाई नाङ्गेझार पारेर सडकमै ओरालिनेछ । किनकी खानेपानीको पाईपमा जोडिन गएको ढल त्यही खानेपानी अर्थात शुद्ध पानीले नै सफा गर्ने ल्याकत राख्दछ ।

तसर्थ, सिङ्गो विश्व यस महामारी विरुद्ध लडिरहेको अवस्थामा नेपालमा यसरी सरकार बिरोधी हर्कतहरु हुनु निश्चय नै तपाईं हामी आम सर्वसाधारणका लागि दुःखद कुरा हो । हाल प्रचलित संविधानको धारा २६७ मा सेना सम्बन्धी स्पष्ट व्याख्या गरिएको छ । बिकास निर्माण, फास्ट ट्रयाक, बिपद व्यवस्थापन, उद्दार लगायतका कार्यहरुमा दक्षता हासिल गरिसकेको सरकारको एउटा अंग नेपाली सेनालाई यो महामारीको अवस्थामा स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी दिइनु अत्यन्तै सराहनीय कार्य हुनेछ ।

साथै गुगलले हालै सार्वजनिक गरेको तथ्यांकले समेत कोरोना बिरुद्धको होसियारीमा कयौं महाशक्ति राष्ट्रभन्दा नेपाल अगाडि रहेको छ । तसर्थ यो बिपत्तिलाई समाधान गर्न सरकारका हरेक काम कारबाहीलाई पूर्ण साथ, सहयोग र समर्थन गर्दै नियमपूर्वक क्वारेन्टाइन मै बसी उच्च मनोबलका साथ अघि बढ्नु आम नेपाली जनसमुदायहरुको एक मात्र निर्विकल्प आवश्यकता हो ।

लेखक : दुखको साथी नेपालका महासचिव हुन् ।

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]