बैशाख ६, २०८१ बिहीबार

कथा : एक नेपाली प्लेब्वाय

जीवन क्षेत्री

एउटा सुप्रसिद्ध कथामा आन्तोन चेखवले एउटा विशेष पात्रको सिर्जना गरेका छन् । गुरभ नामको त्यो विवाहित पात्र नयाँ नयाँ महिलाहरुलाई सहजताका साथ आकर्षित गर्न र उनीहरुसित शारीरिक सम्बन्ध कायम गर्न खप्पिस हुन्छ ।

तर महिलाहरुबारे कुनै बहस चल्यो भने उसले उत्तिकै सहजताका साथ उनीहरुको भद्दा आलोचना गर्छ । कुनै पनि महिलाबारे उसले सकारात्मक धारणा राख्दैन । हरेक नयाँ अवैध सम्बन्धपछि ऊ आफैं नैतिक रुपमा थप पतित भएको देख्दैन तर सिंगो महिला जातिप्रति उसको विद्वेष र अपहेलनाको भावचाहिं झनै बढ्दै जान्छ ।

????????????????????????????????????????????????????

तर पनि खै कुन अदृश्य जादुले हो, नयाँ र सुन्दर युवती र आइमाइहरु एकपछि अर्को गरी उसको शिकार हुन आइलाग्छन् ।
चेखब बितेको एक शताब्दीभन्दा बढी भइसक्यो, उनले छाडेर गएको रुस अब चिन्न नसक्ने गरी बदलिइसकेको छ तर समाजका खास प्रतिनिधिहरुको उनले जुन चरित्र चित्रण गरे, त्यसको सान्दर्भिकता कत्ति घटेको छैन । खास गरी प्रेम र सोजन्य मानवीय भावनाहरु अनि विवाहलगायतका सामाजिक संरचनाहरुलाई विभिन्न कथाहरुमार्फत् फरक फरक कोणबाट चेखवले गरेको चित्रण ऐतिहासिक र भौगोलिक सीमानाहरुले नबाँधिने खालको छ ।
——–

पाँच घण्टा बस चढेर राजधानी पुग्नु थियो । सँगैको सिटमा एउटा गुरभ आइलाग्यो । कुरा शुरु भएपछि उक्त वयस्क मानिसबारे मेरो मनमा आएको पहिलो शब्द थियोः प्लेब्वाय, नेपाली प्लेब्वाय । तर कुरा सुन्दै जाँदा ऊ र चेखबको पात्र गुरभबीच यति समानता आउन थाल्यो कि यात्राभर मैले आख्यान साहित्यका महारथी चेखबलाई याद गरेंः यस्तै मानिसको रामकहानी याद गर्दै त उनले ‘लेडी विद द डग’ शीर्षक कथा लेखेका होलान् ।
उमेर, अन्दाजी ३५ देखि ४० वर्ष । कद, औसतभन्दा होचो । छालाको रङ, गहुँगोरोभन्दा केही अँध्यारो । गाउँमा हुर्केको मानिस झैं खँदिलो र अररिएको जस्तो लाग्ने शरीर । कपाल बीचबाट कोरेर दुईतिर लर्काएको । अनुहारबाट मुस्कान लगभग कहिल्यै नहराउने । स्वभावले अति बहिर्मुखी, एकाध घण्टा चुप लागेर बस्न नसक्ने जस्तो । बोली र हाउभाउमा गाउँले मानिसको जस्तो सहजता ।

 मध्य र सुदुरपश्चिमको ठिमाहा नेपालीजस्तो लाग्ने लवज । पेशाले गाडी चालक । नेपाली गुरभको छोटो वर्णन यस्तो थियो ।
बातचित कसरी शुरु भयो, मलाई थाहा छैन तर यात्राको पट्यार कम गर्न अक्सर म आफैं वार्तालाप शुरु गर्ने गर्छु । एकाध मिनेटमा थाहा भइहाल्छ कि अर्को सिटको यात्रु सित कुरा गरिरहनु सहज हुन्छ कि हुँदैन भनेर । बोल्यो भने पैसा पर्लाजस्तो गर्ने अन्तर्मुखीहरुसित यात्रा गर्नुभन्दा बहिर्मुखी मानिसहरुसित त्यसरी यात्रा गर्नु धेरै रोचक हुन्छ । तर यो नेपाली गुरभचाहिं यति बहिर्मुखी थियो कि बेलाबेला अरु सिटका मानिसहरुले हाम्रो कुरा सुनेर लाज मानिरहेका होलान् कि भनेर चनाखो हुनुपथ्र्यो ।

एकै छिनमा उसले मलाई सर भन्न थाल्यो भने मैले उसलाई दाइ, अनि हाम्रो वार्तालाप सहजताका साथ अघि बढ्यो । बहिर्मुखी भएका कारणले स्वभावतः उसले आफ्नो जीवनी दुरुस्त उतार्न थाल्यो भने मचाहिं एउटा नमुना अन्तर्मुखी मानिसजस्तो भएर उसका कुरा सुन्न थालें । जब लाग्थ्यो उसले कुनै कुरा लुकाउँदैछ वा भन्न धक मान्दैछ, ‘अनि’ भनेर मैले कान ठाडा पार्थें र उसले आवाज कम गरेर फुस्फुसाउँदै विवरण दिन्थ्यो ।
एउटा अनजान मानिसको कहानी अरुलाई सुनाएर मनोरञ्जन दिने वा उसले भनेको कुरामा बढाइचढाइ गरेर एउटा भद्दा लेख सिर्जना गर्ने मेरो आशय हैन । त्यसै पनि प्रेमलगायतका मानवीय भावनाहरु लेखिने र पढिने कुरा हैनन् । तीबारे जसले जे सुने वा पढे पनि अन्ततः त्यही शाश्वत सत्य हुन्छ जुन व्यक्तिले आफैं अनुभुत गर्छ । यसै पनि शब्दमा ढालिंदासम्म कुनै पनि भावनाले जटिलता र कोमलता गुमाएर यान्त्रिकता र कठोरता हासिल गरिसकेको हुन्छ । त्यसमाथि पढ्ने मानिसले आफ्ना तमाम आग्रह, पूर्वाग्रह र मानसिक द्वन्द्वको सापेक्षमा राखेर पढ्दा लेखकले जे परिकल्पना गरेर कुनै कुरा लेखेको हो, त्यसको सुक्ष्म अंश मात्र त्यसमा बाँकी रहेको हुन्छ ।


त्यसैले त्यो वार्तालापमा के कस्ता शब्द प्रयोग भए भन्ने कुरा गौण हो र तिनलाई यहाँ दोहोर्याउनु उचित हुँदैन । लेखौं कि नलेखौं भनेर महिनौं अनिर्णित भएपछि अन्ततः उक्त यात्राको अनुभवलाई शब्दमा उतार्ने निर्णयमा म पुग्नुको एउटा कारण छः सतहमा हेर्दा समाजमा यस्ता पात्रहरुको घनत्व जति देखिन्छ, यथार्थमा त्यसको मात्रा धेरै छ भन्ने मेरो आँकलन । त्यसबाहेक प्रेम र यौनलाई चुरोटको सर्को वा सुर्तीको फ्वाँकजस्तै सहज रुपमा लिने अहिलेको पुस्ताका युवाहरुका लागि उक्त मानिसको जीवनले महत्वपूर्ण पाठ पनि दिन सक्ने मेरो बुझाइ छ ।
सुविधाका लागि अहिले त्यो मानिसलाई गुरभ नै भनेर पुकारौं, उसले बताएको नाम मैले अब बिर्सिसकेको छु । मध्य पश्चिमको एउटा पहाडी जिल्लाको विपन्न परिवारमा जन्मेको हो गुरभ । सानैदेखि बिग्रेर दुई कक्षा पुगेपछि नै पढाइ छाडेर हुल्लडवाजी र रामरमिताका पछि लागेको ऊ गाउँका अग्रजहरुको सिको गर्दै किशोरकालमा भारत पुग्यो । राजमार्गका होटलहरुमा भाँडा धस्काउँदा धस्काउँदै एक दिन एउटा नेपाली ड्राइभरको नजरमा पर्यो ऊ र त्यही दिन उसको भाग्यले पल्टा मार्यो ।


क्रुर होटल मालिकले बिदा दिन नमानेपछि पछाडिको ढोकाबाट महिनौंको तलब त्यसै छाडेर भागेको बालक गुरभ अचानक एउटा दयालु नेपाली ट्रक ड्राइभरको छत्रछायाँमा पुग्यो र केही दिनमै खलासीको रुपमा दरियो । उजाड मरुभुमिजस्तो लाग्ने होटलबाट अचानक ऊ बम्बइ महानगरीमा पुग्यो । खलासी भएको केही वर्षमा ट्रक चलाउन जान्नु र ड्राइभरमा दरिनु ठूलो कुरै थिएन । अरु धेरै नेपाली झैं त्यहाँका कोठीहरुमा पुगेर असमयदेखि नै वयस्क व्यवहार गर्नु अनि बम्बइमा गल्ली गल्ली ओगटेका ‘डन’हरुको फूट सोल्जर बन्नु स्वभाविक थियो । वफादारी र धृष्टतापूर्ण साहसका लागि ऊ चाँडै नै नाइकेहरुको नजरमा आएर ससानो ग्याङको नेतृत्वमा नै पुग्यो ।


यो विवरणचाहिं उसले अलि पछि भनेको थियो । वार्तालापको शुरुआतचाहिं उसको विवाहबाट शुरु भएको थियो । शायद मुम्बइमा खलासी नै रहेको बेलामा हुनुपर्छ, घर आएका बेला तराइमा महेन्द्र राजमार्गनेरको एउटा गाउँमा दिदीको घरमा जाने मौका जुरेछ । योग्यता शुन्य भए पनि गुरभ अब खाइलाग्दो युवा भइसकेको थियो । त्यतै नजिकैको घरकी एउटी युवतीमा उसको नजर परेछ जोसित उसको प्रेम बस्यो र भागी—बिहे भयो ।
पूरा कहानीको सबैभन्दा रोचक भाग नै यही थियो । निरक्षर भएर पनि मन परेकी र डिग्री पढेकी केटी बिहे गर्नु चानचुन कुरा थिएन । उमेर कमै भए पनि भारतमा विभिन्न स्त्रीहरुसित व्यवहार गरेर उसले त्यस क्षेत्रमा हासिल गरेको अनुभव प्रयोग गरेको थियो । केटीको घर अगाडि किराना पसल थियो, त्यहाँ गुरभ निरुद्देश्यजस्तो दिनहुँ जान्थ्यो, पछिल्लो खल्तीबाट काइँयो निकालेर कपाल कोथ्र्यो अनि घरी के, घरी के किनेर खाँदै टहलिन्थ्यो । भरे जान्थ्यो, आजका लुगा धुन्थ्यो, अनि भोलिपल्ट अर्का सफा कपडा लगाएर चुस्त भएर निस्कन्थ्यो अनि उही दैनिकी दोहोर्याउँथ्यो ।

 चाउचाउदेखि चिसो पेयसम्म, पसलमा पाइने धेरैजसो कुरा किनेर खाँदाखाँदा उसको हजारौं लगानी भयो तर करीब बीस दिन जतिपछि ऊ युवतीको ध्यान तान्न सफल भयो । वार्तालाप शुरु हुनासाथै प्रश्न आयो, योग्यता र जागिरको । उसले बतायोः डिग्री सकेर भारतमा छु, अपिसमा काम गर्छु, कम्प्युटरको काम हुन्छ, (अनि महिनाको कमाई कति  हुन्छ भनेको थियो, त्यो मैले बिर्सें) ।
दुखजिलो गरेर पढेकी तर बाउ बितिसकेर विपन्नताले हैरान युवतीले त्यत्तिको योग्य युवकलाई छोड्ने सम्भावना थिएन । केही दिनमै उनीहरु भागेर बिहे गरे ।

 श्रीमतीलाई पहाडको आफ्नो घरमा लगेर छाडेर गुरभ फेरि बम्बइ हानियो तर जति दिन नेपाल बस्यो, त्यति दिन भयभीत भइरह्योः श्रीमतीले एक हरफ अंग्रेजी बोली भने के जवाफ दिने होला?
श्रीमतीसित अहिले कस्तो सम्बन्ध छ त? यो प्रश्नमा उसको सहज उत्तर थियोः “अब एउटा छोरो जन्मेर ठूलै भइसकेको छ, श्रीमतीलाई गाउँकै स्कुलमा जागिर मिलेको छ । अरु त ठिकै छ तर अहिले पनि उसको धेरै बेर संगत गर्न डर लाग्छ, डिग्रीको भेद खुल्यो भने?” यतिका वर्षसम्म ती महिलाले लोग्नेको डिग्रीबारे असलीयत थाहा नपाएकी होलिन् भन्ने कुरा त्यति पत्यारिलो थिएन तर उसले चाहिं स्वभाविक मूस्कानसाथ भन्दै गयोः अहिले पनि ससुराली जानुपर्यो भने बसबाट झरेपछि पहिले उसलाई पर पुग्न दिन्छु अनि बल्ल बिस्तारै पछिपछि जान्छु, बाटोमा भेटै नहुन गरी ।


नेपाली गुरभको कहानी यहाँसम्म अनौठो भए पनि उति आपत्तिजनक छैन । तर यसपछिको भागको चाहिं प्रकृति नै अलग छ । वर्षौं बम्बइमा काम गरेपछि केही वर्षदेखि गुरभ अब नेपालमा छ र चिनजानको मन्त्रीले करारमा एउटा जिल्ला अदालतमा उसलाई ड्राइभरमा नियुक्त गरेको छ । कार्यालयबाट बिदा हालीहाली गुरभ अब अवैध प्रेम र यौनको फूल फूलाउन राजधानी हिंडेको छ । ऊसित दुईटा सिम लाग्ने ब्ल्याकबेरीको नक्कल गरेर बनाइएको चिनियाँ फोन छ ।
मेरै सामुन्ने उसले दुई महिलाहरुलाई फोन गरेर भोलिपल्ट भेट्ने फरक फरक समय मिलाउँछ, आजलाई त बाटोमै रात परिसकेको छ ।

 घरमा श्रीमतीले यो फोनका रेकर्डहरु फेला पारेमा के हुन्छ भनेर म सोध्छु । उसँग जवाफ पहिल्यै तयार छः घर नपुग्दै यी दुइटै सिम बाहिर निस्किसक्छन् अनि फोनमा भोडाफोन र एअरटेलका भारतीय सिम लाग्छन् । श्रीमतीलाई फोन गर्नुपर्यो भने ल्याण्डलाइन फोन छँदैछन् । 
उसका नियमित शिकार ती महिलाहरुबारे उसले बिस्तृत विवरण दिन्छ । कतै अनौठो त कतै दिगमिग लाग्ने उसको कहानी सुन्दै जाँदा मलाई लाग्छ, यो मानिसमा या त मानसिक समस्या छ, हैन भने पुरुष हर्मोनको अधिकता हुने कुनै शारीरिक समस्या नै छ । फर्केर हेर्दा लाग्छ, मनोरोग विज्ञानमा जेलाई हाइपोमेनिया भनिन्छ, शायद त्यो मानिसको अन्तहीन मुस्कान र महिलाहरुलाई आकर्षित गर्ने क्षमतालाई त्यसले व्याख्या गर्न सक्छ । 


उक्त यात्राको केही दिन अघि उपन्यासकार दाजु नयनराज पाण्डेले पोखराबाट फर्कंदा माइक्रोबसमा भेटिएका एक जोडी पात्रहरुको विवाहेतर प्रेम सम्बन्धबारे लेखेको यात्रा संस्मरण पढेको थिएँ । सम्बन्धहरुको चरित्र यता पनि उस्तै थियो तर सबै पात्रहरुका आआफ्नै विशिष्टताहरु थिए । 
गुरभले सुनाउने प्रत्येक नयाँ अनुभवसँगै पात्र फेरिए पनि घटनाक्रमको चरित्र दोहोरिइरहँदा पट्यार लागिसकेको थियो । अचानक वार्तालाप फरक दिशामा मोडियो । उसले अब एकाएक उसका मालिक न्यायधीशहरुको चरित्र चित्रण गर्न थाल्यो । हुन पनि गाडी चालक भएकाले अरु कसैलाई भन्दा बढी उसलाई उनीहरुको निजी जीवनबारे थाहा थियो ।

 न्यायधीशहरुलाई वयान गर्न उसले प्रयोग गरेका भद्दा र अश्लील शब्द जति कुरुप सुनिन्थे, त्योभन्दा कुरुप समाजका प्रतिष्ठित र उमेर ढल्किसकेका मानिसहरुको करतुत लाग्थ्यो । उसको बयानअनुसार न्यायधीशहरुको निवासमा बाल यौन दुराचार यति धेरै थियो कि भन्दाभन्दै ऊ आफैं दारा किटेर तिनीहरुलाई सराप्थ्यो, अनि धित मर्ने गरी आमाचकारी गाली गथ्र्यो र शान्त हुन्थ्यो । 


ऊ आफैं जुन कर्ममा संलग्न थियो, त्यो अनैतिक हो र त्यसको राम्रो नतिजा हुँदैन भन्ने उसलाई बोध थियो । पटक पटक ‘यो पाप त काशी गएर नुहाए पनि कट्दैन’ भनेर आफैं भन्थ्यो । खास गरी मुम्बइ रहँदाका आङ सिरिंग हुने कहानी सुन्दा मैले पटक पटक सोधेको थिएँः एचआइभी परीक्षण गराउनुभएको छ? प्रश्न भुइँमा खस्न नपाउँदै ऊ भन्थ्योः भगवान्का कृपाले अहिलेसम्म त्यो रोग लागेको छैन । 
न्यायधीशहरुको करतुतबारे उसको बलियो धारणा थियोः तिनको अपराध कुनै पनि हालतमा क्ष्यम्य छैन ।

 ऊ भन्थ्योः तिनीहरुलाई त नरकमा लगेर तेलका कराइमा उमाले पनि तिनका लागि सजायँ कमै हुन्छ । उसका यी अभिव्यक्तिहरुले मानिसको मनोविज्ञानबारे महत्वपूर्ण कुराहरु बोल्थे । समाजमा ससाना र जीविकाका लागि अपराध गर्नेहरुमा बरु गल्ती र हीनताबोध हुन्छ, केही नभए पनि तिनीहरुमध्ये कति भगवान्सित डराउँछन् । मन्दिर गएर पूजा र दान नगरे पनि हृदयमा कतै न कतै उनीहरुमा पाप–धर्मको परवाह हुन्छ । तर संगठित पाराले पद र शक्तिको पर्दाभित्र बसेर अपराध गर्नेहरुमा त्यो हुँदैन । त्यस्तै अपराधमा समेत कानुन र विवेक दुवैको प्रयोग गरेर न्याय दिनुपर्ने न्यायधीशहरुको करतुत सुनेपछि आम मानिस र खास गरी निर्धा र विपन्नहरुले न्यायालयमा पुगेर किन न्याय पाउँदैनन् भन्ने प्रश्नको उत्तर मिल्थ्यो । 


आम मानिसको भन्दा तपाइँको यौनेच्छा बढी भएजस्तो लाग्दैन र त्यसले अफ्ठेरो पार्दैन भनेर सोध्दा उसले भन्यो कि उसलाई पनि त्यो कुरा थाहा छ तर उसले थाहा भए पनि त्यस विषयमा केही गर्न सक्दैन । 
यौनेतरका विषयमा पनि गुरभको धारणा लगभग उस्तै थियो । सगोलमा रहेको परिवारका लागि कुनै ठूलो र महंगो कुरा किन्ने पनि योजना थियो उसको काठमाडौंमा ।

 सहजै भन्थ्योः किन्न पैसा यति पर्छ तर म यति भन्छु, अर्थात् आफ्नै घरमा घुसखोरी वा भ्रष्टाचार गर्दै थियो ऊ । भन्थ्योः यति नगरे त कहाँ यतिका सम्बन्ध टिकाउन सकिन्छ र? हुन पनि न त बम्बइको जागिर न त नेपाल फर्केपछिको जागिरले नै उसलाई एैयासी जीवन बिताउने मौका दिने देखिन्थ्यो । भविष्यका लागि पनि त्यस्तो स्पष्ट योजना थिएन उसको । छोरो हुर्केर अब स्कुल जाने भइसकेको थियो, भाग्यवश श्रीमती जागिर खाने थिइन् । तर लाजले श्रीमतीको कमाइ कहिल्यै छुन्न भन्थ्यो, यद्यपि उसको खर्चालु बानी देख्दा त्यो कुरा त्यति पत्यारिलो लाग्दैनथ्यो । 


गुरभको कहानीले उसको आफ्नो व्यक्तिगत र पारिवारिक जीवनको जुन झलक दिन्थ्यो, त्यस्तै झलक ऊ वरपरको समाजको पनि दिन्थ्यो । उसको कहानी सुन्दै गर्दा अचानक मलाई लाग्योः कतै हाम्रो समाज विवाहेतर यौन आदि विषयमा हामी धेरैले सोच्नेभन्दा बढी नै उदार भइसकेको त छैन? यदि भएकै हो भने यौनको मामलामा हामी पश्चिमा समाजहरु झैं उदार हुँदै जाने तर उता जस्तो महिलाहरुको आर्थिक प्रगति र स्वाबलम्वनचाहिं नहुँदा कतै यसले उदारता र स्वतन्त्रताका नाममा उनीहरुलाई अझ अधोगतितिर धकेलिरहेको त छैन? पढाइका लागि काठमाडौं बस्ने तर यस्तै गुरभहरुको संगतमा रहने र जीविकाका लागि तिनै गुरभहरुमा आंशिक रुपमा निर्भर रहने युवतीहरुलाई के भन्ने–

स्वतन्त्रताको उपभोग गरेका भन्ने कि ज्ञान सीप सिकेर स्वाबलम्बी बन्नु पर्ने अमूल्य समय मोजमस्तमिा लागेर जीवन नै बर्बाद पारेको भन्ने? दुई कक्षा पनि पास नगरेको गुरभले ‘फिस’ भन्ने शब्द (शुल्कको अर्थमा) त्यस्तै युवतीहरुसितको मोलमोलाइका बेला पहिलोचोटि सुनेको भन्थ्यो । 
त्योभन्दा अझ माथि उठेर हेर्नुपर्दा, बुढेसकालमा पुगिसकेका न्यायधीशजस्ता मानिसहरु यौन दुव्र्यवहारमा उत्रिनुले हाम्रो समाजबारे के बोल्छ? यौनलाई बातचित र कलामा समेत अश्लील भन्दै निषेध गर्ने समयमा जन्मेर हुर्केका मानिसहरुले अहिले खुकुलिंदै गएको त्यस्तो बन्देजलाई दुरुपयोग गरेको स्पष्टै देखिन्छ ।

 तर कतै त्यसले उनीहरुको कार्य सम्पादनमै असर पारिरहेको त छैन? आफैं यौन हिंसामा उत्रिने मानिसले यौन हिंसाको मुद्दा अदालतमा आयो भने पीडकप्रति कृपादृष्टि राख्ला कि नराख्ला? सेना, पुलिस र गाडी चालकजस्ता केही व्यवसायहरु त बहू–विवाह  बहू–सम्बन्धका लागि चिनिएकै हुन्, कतै त्यो सुचीमा अब अरु व्यवसायहरुलाई पनि थप्नुपर्ने भएको त हैन?


अन्तमा, ती शिक्षित युवती जो निरक्षर युवकसित प्रेममा परेर बिहे गरिन्, त्यस्ता युवतीहरुको नेपालमा अनुपात कति होला? भाग्यवश हामीले चर्चा गरेको गुरभलाई त भारत रहँदाको यौन–स्वच्छन्दताका क्रममा एचआइभीजस्ता रोगहरु लागेनन्, तर सबै त त्यस्ता भाग्यमानी हुँदैनन् । उसका व्यवहारबारेको वर्णन सुन्दा उसलाई अझै पनि कुनै बेला त्यस्ता सरुवा रोग लाग्ने सम्भावना थियो ।

 त्यस्तो दुर्भाग्य आइलागेमा त्यसको प्रायश्चित कसरी हुन सक्छ? के त्यो पनि समाजको यौनप्रति बदलिंदो धारणाका लागि खास मानिसहरुले तिर्नुपर्ने मुल्य हैन? रोगका कुरा छोड्ने हो भने पनि गुरभमा देखिएको पत्नीव्रताको अभावलाई कसरी हेर्न सकिन्छ? के उसित सम्बन्ध राख्ने अन्य महिलाहरुमा भएको पतिव्रताको अभावले उसको आफ्नो त्यो कमजोरीको क्षतिपुर्ति गर्न सक्छ? 
स्पष्ट छः यस्तै असहज अवस्था नआओस् भनेर हाम्रा पुर्खाहरुले यौनलाई वैवाहिक सम्बन्धबाहिर बन्देज र निषेधको विषय बनाएका थिए ।

 समाजका अन्य पुराना संरचनाहरुमा झैं अब तिनमा पनि धुलिया लागिसकेको छ । त्यसका लागि रुवाबासी गर्नु जरुरी छैन तर तिनका ठाउँमा नयाँ संरचनाहरु बन्दा हाम्रो समग्र आर्थिक समृद्धि, आम चेतना स्तर र खास गरी महिलाहरुको आर्थिक आत्मनिर्भरताको अवस्थालाई आत्मसात् गर्नु जरुरी छ ।

 त्यसो नभएको अवस्थामा महिलाहरु अझ चर्को यौन शोषणको शिकार हुने सम्भावना हुन्छ ।
तर विडम्बना के छ भने, राज्यको मूल कानुन झैं यस्ता नैतिक कानुन वा बन्धनहरु राज्यले नभएर समाज आफैंले अनौपचारिक रुपमा बनाउँदै जाने हुनाले तिनको निर्माण र विग्रहमा माथिको गुरभजस्तै मानिसहरुको ठूलो भुमिका हुन्छ । उक्त व्यक्तिलाई भेटेपछि मलाई लागिरहन्छः हामी पुरानोको ध्वंश भएको र नयाँको सिर्जना नभइसकेको संक्रमणको अवस्थामा छौं र ऊजस्ता टाँठाबाठाहरुले यो अराजक अवस्थाको फाइदा उठाइरहेका छन् । 

प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार  ११ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]