बैशाख १३, २०८१ बिहीबार

को सक्कली, को नक्कली ?

होमप्रसाद गौतम

कोभिड– १९ का कारण यस बेला विश्व चर्चाको शिखरमा छ । चर्चामा मात्र होइन मारमा पनि । विश्व आतंक र सन्त्रासमा छ । धेरै प्रकृतिका रोग आउन–जाने क्रम विश्वमा जारी छ । कहिले औलो आयो । कहिले बिफर आयो । कहिले दादुरा आयो । कहिले टिबी आयो । कहिले एड्स आयो । कहिले इबोला आयो । कहिले केके अनेक रोग र प्राकृतिक विपत्ति आए र गए । जे आए पनि जे गए पनि विश्व यसरी कोरोना भाइरस कोभिड (१९) आएपछि जस्तो कहिल्यै भएको थिएन । यसले विश्वका दुई सय दश देशको जनजीवन, आर्थिक सामाजिक जीवन पद्धति नै ठप्प बनाइदियो ।

नेपालमा पनि कोरोना भाइरस संक्रमणको खतराका कारण २०७६ चैत ११ बाट मुलुक लक डाउनमा प¥यो ।  झन्डै ३ महिनासम्ममा पनि सामान्य अवस्थामा फर्कन मुस्किल छ । राजनीतिक, सामाजिक कामको दौरान, सामाजिक अभियन्ता, निष्काम र निकृष्ट कर्मविरुद्धको यात्रामा निरन्तर लाग्ने क्रममा मेरो दिनचर्या अन्य धेरै मानिसभन्दा बेग्लै थियो । अझै पनि त्यस्तै छ । समयको जहिले अभाव महसुस हुन्थ्यो । म जहिल्यै मनोरञ्जनका विषय वा समय त्यसै खेर फाल्ने विषयमा पनि कन्जुस छु । सिनेमा हेर्ने, चुरोट–खैनी खाने, जाँड–रक्सी पिउने, जुवा–तास खेल्ने, भ्रष्टाचार गर्ने र घुसको चक्करमा नैतिक अनैतिक काममा कहिल्यै ध्यान जाँदैनथ्यो । त्यसका लागि समय निकाल्न मलाई कठिन थियो । अरूले जस्तो जीवन र समयको महत्व नबुझेको पनि हुन सक्छ ।

चैत ११ देखि लकडाउनमा परियो । लकडाउनभित्रै एक दिन बुहारी माधुरीले यस्तो सुझाव दिइन्– बुबाले सधैं काम, समाजसेवा, देश, जनता, राष्ट्र, पार्टी, संघ संस्था मात्र भनेर हँुदैन, कहिलेकाहीं मनोरञ्जनको पनि महत्व हुन्छ । उनको करमा २ वटा नेपाली सिनेमा हेरेँ । दुईवटै सिनेमाको हिरो हरिवंश आचार्य थिए । फिलिमको नाम थियो ‘बलिदान’ र ‘तँ त सारै नि बिग्रिस बद्री’ । एउटाले राजनीतिक इतिहास, आन्दोलन, संघर्ष र परिणाम धोकाधडीको सम्भावनालाई चित्रण गरेको छ भने अर्कोले सामाजिक विसंगति र त्यसको असर कस्तो हुन्छ भन्ने छ । दुवैमा मह जोडीका दमदार प्रस्तुति छन् । फरकफरक पात्र र फरकफरक रोल छन् । सायद मैले हेरेका सिनेमाका संख्या दर्जन कटेका छैनन् होला । मलाई यसमा कसैले पाखे भनेछ भने पनि स्विकार्नै पर्छ ।

ती दुई सिनेमामा अरूले केके देख्नुभयो, मनोरञ्जन कसरी लिनुभयो, त्यो मेरो विषय परेन । त्यसले मेरो मनमा दुईवटा कुरा जन्माएको छ– सक्कली कि नक्कली ? त्यहाँ सक्कली र नक्कली श्रीमतीको चरित्र प्रस्तुत छ । सक्कली र नक्कली आमा । सक्कली क्रान्तिकारी र नक्कली क्रान्तिकारी । सक्कली बाबु कि नक्कली बाबु ।

म मेरो देशको राजनीतिक घनचक्करको चाकाचुली निकै लामो समयदेखि चलेको हेरिरहेको छु । म आफैं पनि एक राजनीतिक पात्र र सामाजिक अभियन्ता हुँ । राष्ट्रसेवकको काममा पनि केही समय अनुभवको मौका रह्यो । अहिले म ४ महिनादेखि साझा प्रकाशनको महाप्रबन्धकमा कार्यरत छु । यो लेखमा मेरो शीर्षक नै सक्कली कि नक्कली भन्ने छ । वास्तवमा हामी के हौं ? तिनै दुई सिनेमाको पात्रहरु जस्तै बद्री (हरिवंश) की जेठी श्रीमती जस्तो सक्कली श्रीमती र उसले ६ करोडमा जग्गा बिक्री गरेपछि पैसाको लागि आएकी नक्कली श्रीमती । हामी सक्कली प्रजातन्त्रवादी कि नक्कली  ? हामी सक्कली राजनीतिज्ञ कि नक्कली ? सक्कली प्रधानमन्त्री कि नक्कली ? सक्कली सचिव कि नक्कली ? सक्कली महाप्रबन्धक कि नक्कली ? सक्कली राष्ट्रसेवक कि नक्कली? सक्कली पत्रकार कि नक्कली ? सक्कली माननीय कि नक्कली ? सक्कली ठेकेदार कि नक्कली ? सक्कली बैंकर कि नक्कली ? सक्कली नीतिनिर्माता कि नक्कली ? सक्कली योजनाकार कि नक्कली ? सक्कली जनप्रतिनिधि कि नक्कली ? चुनावमा सक्कलीलाई टिकट दिने नेतृत्व कि नक्कलीलाई । सक्कली डाक्टर कि नक्कली ? सक्कली इन्जिनियर कि नक्कली ? सक्कली प्रशासक कि नक्कली ? सक्कली कर्मचारी कि नक्कली ? सक्कली किसान कि नक्कली ? सक्कली सुकुम्बासी कि नक्कली ? सक्कली मगन्ते कि नक्कली ? सक्कली उद्योगपति कि नक्कली ? सक्कली राजदूत कि नक्कली ? सक्कली पासपोर्ट कि नक्कली ? सक्कली नागरिकता कि नक्कली ? सक्कली अपहरणकारी कि नक्कली ? सक्कली सुरक्षाकर्मी कि नक्कली ? सक्कली ऋणी कि नक्कली ? सक्कली साहू कि नक्कली  ? सक्कली न्यायमूर्ति कि नक्कली  ? सक्कली अडिटर कि नक्कली  ? सक्कली ड्राइभर कि नक्कली ? सक्कली अख्तियार कि नक्कली  ? सक्कली सम्पत्ति शुद्धीकरण आयोग कि नक्कली ? सक्कली मतदाता कि नक्कली ?

मानिसको अनुहार सक्कली अन्य धेरै नै नक्कली । पद नक्कली, कर्म नक्कली, व्यवहार नक्कली, विचार नक्कली, सोच नक्कली, चिन्तन नक्कली, योजना नक्कली, आयोजना नक्कली, ब्याड नक्कली, बिउ नक्कली । हामी हौं के ?

मैले यसैलाई केही वर्षअगाडि तथ्य तथ्याङ्क प्रकाशन प्रालिमा रहँदा एउटा कविताको लाइन फु¥यो । त्यो यस्तो थियो, ‘धेरैथोरै जति पनि बोल्ने लेख्ने गरौं, सत्य तथ्य तथ्याङ्कको आधारमा गरौं ।’ हामी किन सक्कली हुन मिल्दैन ? सक्कली व्यवहार, सक्कली कर्म, सक्कली सोच र सक्कली तौरतरिकामा हामी चल्न सक्दैनौं भने हामीलाई कोरोना नआएर के आउँछ त ?

अहिले नेपाली जनताले ५ वर्षका लागि केपी शर्मा ओलीलाई यो देशमा सरकार चलाउन जनमत दिएका छन् । त्यो सक्कली म्यान्डेट खोस्न हामी किन आतुर छौं ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सक्कली कर्म र व्यवहारबाटै पदीय मर्यादाको गरिमा राख्नुपर्दछ । सक्कली राजनीतिक सोच, चिन्तन र व्यवहार भएका कर्मको खाँचो महसुस गरेको छ, नेपाल राष्ट्रले, नेपाली समाजले । सचिवालयमा बस्ने र व्यवहार सक्कली कि नक्कली ? भन्ने विषय प्रधानमन्त्रीको निजी विषय भए पनि यसमा राष्ट्र र पार्टीको गरिमा जोडिएको छ । यसलाई पुनरवलोकन नगरेमा समस्या निरन्तर रहन्छ भन्ने जनगुनासोको पछाडि के कुरा छ । प्रधानमन्त्रीज्यूले सल्लाहकार र सचिवालयलाई सक्कली बनाउनु जरुरी छ भन्दछन् धेरै नेता र कार्यकर्ता । अनुभव र क्षमतावान्को पार्टीमा कुनै कमी भएजस्तो लाग्दैन । यो गुनासोलाई नक्कली भन्न मात्र मिल्दैन।

आन्दोलन र संघर्षको भूमिका निर्वाह गरेर राजनीतिक योगदान गरेका सक्कली मानिसले प्रधानमन्त्रीको सचिवालय हाँक्न असक्षम नेकपामा छन् र ? नेपाल देश हरेक विषयले हेर्ने हो भने एउटा सुन्दर र वैभवशाली प्राकृतिक अनुपम उपहार हो । यो देश प्रधानमन्त्रीले भनेजस्तो गरिब हुने देश होइन र गरिबीमा अब रहन सक्दैन भन्ने कुरा ठीक हो ।

त्यस्तै देशको राजनीतिक आन्दोलन  र योगदानमा नेकपा (पूर्वएमाले) त जनताको वास्तविक मन जितेको पार्टी हो । सफल र सक्षम कार्यकर्ता भएको पार्टी हो । यसमा नेकपा (पूर्वमाओवादी) पनि समावेश भएपछि नेकपा चल्ने र चलाउने यसै गरी हो त ? यहाँ पनि मैले माथि उल्लेख गरेअनुसारकै कामकारबाही त भएको छैन ? यो एकता सक्कली कि नक्कली ? अझ भर्खरै देशमा केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन डा. सुरेन्द्र यादवको नक्कली अपहरणको नाटकले नेपाली राजनीतिक समाजमा अर्को प्रश्न उठाएको छ । अपहरणमा परें भन्ने डा. यादव नक्कली कि माननीय महेश बस्नेतहरू हामीले अपहरण गरेको छैन र होइन भन्नेहरू । राजनीतिक शरणको कुरा हुँदा राजनीतिक लाभ हानिको कुरा गरेका रहेछन् । अपहरणको नाटक शतप्रतिशत नक्कली आरोप हो ।

अझ प्रधानमन्त्रीले नै अपहरण गर्न लगाएको आरोपमा राजीनामा ? यहाँ को नक्कली को सक्कली ? केपी शर्मा ओलीले नेकपाको राजनीतिक नेतृत्वसँग शरण मागे र उहाँले शरणको सहज राजनीतिक बाटो विधयेकमार्फत खोलिदिनुभयो होला भन्ने अनुमानमा धेरै सत्यता पाइन्छ । आवश्यक नहुँदा सरकारले विधेयक फिर्ता पनि ग¥यो । यसमा प्रधानमन्त्रीको कर्म नक्कली कि मधेशवादी दलको कर्म नक्कली ? वास्तवमा प्रधानमन्त्रीलाई कुर्सीबाट हटाउने जुन तमासा हँुदै छ यसको पछाडि सक्कली कुरा र व्यवहार छैनन् । प्रधानमन्त्री वा माननीयहरूमाथि लागेको आरोप नक्कली र तुकविहीन हो ।

हामीले सक्कलीको अनुसरण गरौं । अब नक्कली बनेर सधैंभरि देशमा अस्थिरता र अराजकता फैलाउने नक्कली तत्व जो भए पनि सक्कली मार्ग, विचार र व्यवहार मात्र आजको राष्ट्रिय आवश्यकता हो । प्रधानमन्त्रीले पार्टी नेताका कुरा र नेता कार्यकर्ता र जनतासँगको भेटघाट र जनसम्पर्क सहज बनाएर रिपोर्टरका पनि सक्कली र नक्कली व्यवहार जान्नुपर्दछ । कसैका पनि पद र प्रतिष्ठा खोपाका देवता होइनन् । कर्मको साधन बनाउने सक्कली काम गर्नुपर्दछ । राजनीतिक कोरोनाको समस्या आफैं हल हुनेछ ।

प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार  १२ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]