बैशाख १३, २०८१ बिहीबार

कमरेड डा. भिम रावललाई खुलापत्र

केशव उप्रेती

आदरणीय डा. भिम रावल ज्यू,

अभिवादन तथा नमस्कार ! बिगत एक दशकदेखी तपाईको स्पष्ट राजनीतिक र वैचारिक अडान तथा देशको सार्वभौमिकताको पक्षमा निस्किने आवाजको प्रशंसक, समर्थक र जिवनको पहिलो राजनीतिक मत तपाइको पार्टीको चिन्हमा दिएको र आफुले बुझाउन सक्ने जतिलाई सोही चिन्ह्मा मत दिन अनुरोध गरि हिँडेको व्यक्तिका नाताले तपाईं सामु केही अनुरोध र सल्लाह प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ, मनन् गर्नु हुनेछ ।

डा. साब, म फेरि पनि दोहोर्याउन चाहन्छु म र मजस्ता लाखौँ शुभेच्छुक र मतदाताहरु तपाई जस्तो निष्ठाको, पारदर्शिताको र स्पस्टताको राजनीति गर्ने मान्छेहरु देखेर नै साबिकको नेकपा (एमाले) र अहिलेको नेकपा प्रति आकर्षित भएका हौँ । अहिले पनि पुर्व मेची देखि पश्चिम महाकालीसम्म र विदेशमा पनि नेकपाका नीति तथा नेतृत्वमा भरोसा गर्ने मान्छेहरु यस पार्टीको र सरकारको बिरुद्धमा खेलिने षड्यन्त्रहरुको बिरोध र भण्डाफोर गर्दै यसै पार्टीको नेतृत्वमा देश समृद्ध बन्छ भन्ने सुन्दर भविष्यको कल्पना र सपना साँचेर बसेका छन् । हिजो चुनावको बेला यँहाहरुले नै भन्नुभए जस्तो ५ वर्षे राजनीतिक स्थायित्वको लागि बहुमतको सरकार कम्युनिस्ट पार्टीको नेतृत्वमा गठन हुँदा हामी सामान्य जनताको आशा र आकांक्षा सगरमाथामा जस्तो चुलिएको थियो ।

हामी पुरै विश्वस्त थियौँ कि छिट्टै नै देशमा विकासको युग सुरु हुनेछ । आर्थिक र सामाजिक विकास भएसँगै तमाम जातीय, क्षेत्रीय, सम्प्रदायिक र धार्मिक जालसाँझीहरु आफ्सेआप किनारा लाग्नेछन् र हाम्रै पालामा नेपाल विश्वको एक नमुना देश बन्ने छ ।

आदरणीय नेता ज्यू, हामिलाई विश्वास मात्रै होइन पुर्ण भरोसा थियो कि जनताले दिएको ५ वर्षे जनमतको भरपुर उपयोग हुनेछ । त्यसको लागि बारम्बार सरकार परिवर्तन हुने बिगतको श्रृङ्खला तोडेर केपि ओलीको नेतृत्वमा बनेको सरकारले राजनीतिक स्थिरता सहित यस्तो काम गर्नेछ कि फेरि देखि चुनावमा नेता भोट माग्न हिड्ने होइन, जनता नेतालाई भोट दिन आउने छन् । सँगसँगै यो पनि भरोसा थियो कि पार्टिको एकीकरणको काम छिट्टै टुङ्गिने छ र पुरै पार्टी पङ्ती सरकारलाई सरसल्लाह र सुझाव सहित सफल बनाउने महाअभियानमा लाग्ने छ र अर्को तिर पार्टीको संगठन विस्तार, सुदृढिकरण र प्रशिक्षणमा पनि उत्तिकै ध्यान दिई सबै पक्षलाई राष्ट्रहित खातिर गोलबद्द गरि समाजवाद निर्माणको आधार तय गर्नेछ ।

निश्चय पनि यो बिचमा कानुन निर्माण, कर्मचारी व्यवस्थापन, अन्य देशहरुसँगको सम्बन्ध सुधार र राज्य संयन्त्रको पृष्ठभुमि निर्माणको कामले गर्दा आर्थिक परिवर्तन देखिने गरि हुन नसक्नु स्वभाविक थियो । यो कुरा पनि सरकार र पार्टीबाट सामान्य नागरिकलाई बुझाउने कोशिस जुन रुपमा हुनुपथ्र्याे त्यो भएन । कम्युनिस्ट पार्र्टीको सरकार बनेदेखी नै चौतर्फी घेराबन्दी गरिराखेको शक्तिलाई खेल्ने ठाउँ त्यहीनिर मिल्यो र उसले जनताका चुलिएका अपेक्षा वास्तविकतामा परिणत नभएको मौका छोपी भ्रम र निराशा छरिरह्यो भने जनता हातै पिच्छे खुलेका मिडियाको भर परेर ‘जुन जोगि आए पनि कानै चिरेको’ भन्दै आक्रोशित हुन थाले जुन स्वभाविक थियो । सरकार गठनको लगभग २ वर्ष पुगेपछि पार्टीको स्थायी कमिटीको बैठक बस्यो र सरकारको राम्रो कामको प्रशंसा गर्यो भने केही सुधार्नुपर्ने पक्षपनि औँल्यायो । यो राम्रो कुरा थियो । तर, त्यो पछि निर्णयमा भनिएका कुरामा समेत सरकारको प्रतिरक्षा तपाईजस्ता विद्वान नेताबाट भएन, न त आलोचना नै भयो केही विशेष मुद्दामा बाहेक ।

त्यो बैठकको लगतै पछि कोरोनाले देशलाई आक्रान्त बनाएको छ । सरकार आफ्नो बलबुताले भ्याएसम्म काम गरिराखेका छ । स्थानीय तहका जनप्रतिनिधिहरु पनि दिन रात नभनी जनताको सेवामा छन् । सबैको ध्यान कसरी ज्यान जोगाउने भन्नेतिर भएको बेला सरकारले अध्यादेश ल्यायो र सबै तिर तरङ्ग सिर्जना गर्यो । समय गलत भएपनि त्यो नेकपाको राजनीतिलाई तराईमा स्थापित गर्ने मामिलामा कोषे ढुङ्गानै साबित हुने थियो भन्ने त हामीलाई समेत थाहा भैसक्यो भने तपाईहरुले नबुझ्ने त कुरै भएन । जति नै थाहा नभएजस्तो गरेपनि । खैर, त्यसको आलोचना भयो र फिर्ता पनि भयो । फिर्ता नै आफैंमा आत्मालोचना होइन र ? आवश्यक भए कुरा पछि पनि गर्न सकिन्थ्यो, सुध्रिने सल्लाह वा चेतावनी जे ले काम गथ्र्याे त्यो दिनुपथ्र्यो ।

तपाईँहरुले त मिडियाले कुरा सुरु गरेको एक दुईदिन देखि त प्रधानमन्त्रीको राजीनामा पो माग्न थाल्नुभो । र, अध्यक्षको पदबाट पनि ! फेरि हरिबोल गजुरेलले बारम्बार मिडियामा भन्नुभएको छ कि त्यो अध्यादेशको कुरा प्रचण्ड (र सम्भवतः) माधव कुमार नेपाललाई पनि थाहा थियो । उँहाहरुले चाहिँ किन रोक्नु भएन र आउन दिनुभो ? के उँहाहरुले चाहिँ नैतिक जिम्मेवारी लिनु पर्दैन ? अनि एकजना अध्यक्ष र प्रधानमन्त्री भएको मान्छेको चाहिँ राजीनामा माग्ने र अर्को अध्यक्षलाई चाहिँ बोकेर हिड्ने जस्तो गैरजिम्मेवारीपन तपाई जत्तिको बौदिक नेताबाट हुन सुहाउला ?

नेताज्यू, यो मान्छेले ओलीका नराम्रा काम देखेनछ । यो त अन्धभक्त पो रैछ भन्ने नसोच्नु होला । ओलीको आलोचना गरेकै कारण कतिपय नेताहरुसँग मेरो बोलचाल बन्द भएको छ । फेरि दोहोर्याँउछु, एमसीसी लगायत धेरै मुद्दामा तपाईको समर्थन गरिराखेको छु । तर, अहिले मुटु फुटेको छ सर । मन निराश छ । आँखा मिडिया भन्दा अन्त गएका छैनन् । युद्धमा होमिए पछि कमाण्डर परिवर्तन गरे जस्तो यो संकटको बेला सरकार ढाल्ने कुराले मिडिया तातेका छन्, त्यो पनि आफ्नै पार्टीको बिरोधको कारणले । कस्तो बिडम्बना रैछ हामी नेपालीको, जुनै सरकार आएपनि, जस्तै बहुमत भएपनि पूरा कार्यकाल टिक्न नसक्ने, टिक्न नदिइने । सरकारका कमिकमजोरी भए समिक्षाको विषय होला, तर त्यो गर्नेबेला यो थियो ? स्थायी कमिटीको बैठकको समयको कुरा गर्नुहुन्छ तपाइँहरु । यहाँ परीक्षा रोकिएका छन्, मान्छेका रोजगारी गुमेका छन्, भोकमरीले जनता छटपटाईरहेका छन्, यति नै बेला बैठक नगर्दा के आकाश खस्छ ?

विधि र प्रकृयाको कुरा गर्नुहुन्छ यँहाहरु, जुन राम्रो पनि हो । तर के कोटेश्वर वा खुमलटार वा अन्त कतै भएका निर्णयमा लालमोहर लगाउने गरि मात्रै हुनुपर्ने हो बैठक ? अनि कम्युनिस्ट पार्टीको विधि भनेको त तल्ला कमिटीमाथिका कमिटी माताहतमा, पराजीत व्यक्ती निर्वाचित सदस्य वा अध्यक्षको मातहतमा अर्को महाधिवेशनसम्म रहने व्यवस्था हुन्छ होइन र ? अनि निर्वाचित अध्यक्षले पराजित अध्यक्षको लागि राजिनामा दिनुपर्ने कुन विधि भो ? ‘म पनि त उपाध्यक्ष थिएँ, छोडेँ’ भन्नुहोला, त्यो एकताको बेला किन भन्नुभएन ? एकताको सहमतिमा सबै निर्णय दुई अध्यक्षको हस्ताक्षरका आधारमा हुने भनिएको छ होइन र ? के अब त्यो सहमतिको औचित्य सकिएको हो ? अनि कुन कम्युनिस्ट पार्टीको बिधानले भन्छ आफ्नो नेतृत्वको बद्ख्वाँई सन्चार माध्यम र सामाजिक संजालमा पोख्दै हिड्नुपर्छ भन्ने ? कम्तिमा यो महामारीको बेला बैठकको प्रतीक्षा गर्न सकिँदैन ? अरु नागरिकले चाहिँ आफ्नो सबै अधिकार र जरुरी जिम्मेवारी पनि तिलाञ्जली दिन सके तपाईं नेताहरुलाई चाहिँ के आपत पर्यो त्यस्तो ? कस्तो पद्दतिको कुरा सिकाउँदै हुनुहुन्छ तपाईँहरु ? भोलि अर्कोलाई खाने बाघले आफू लाई नखाला ? तपाईले भन्ने ‘लोकतन्त्र’ भनेको छाडातन्त्र हो ? हामीले त्यस्तै सिक्ने ?

खुसी लाग्छ तपाईं बारम्बार ‘३ करोड जनताको मनोभावना को कुरा हो यो’ भनि राख्नुहुन्छ । के अहिले ति सबै जनता यो सरकार फेरिनुपर्छ भन्ने पक्षमा छन ? तल्लो तहका नेता – कार्यकर्ता यो पक्षमा छन् ? तपाईको कार्यशैलीको, तपाईहरुले जति नै दोष प्रधानमन्त्रीलाई लगाए पनि, मुल्यांकन भैराखेको छैन होला त ? सोध्नु र बुझ्नु भएको छ जनमत ? हिजो ‘राजनीतिक स्थिरताको लागि’ भनेर मागेको भोट यसकै लागि थियो ? ‘विकास र समृद्धि’ यहि हो ? भोलि फेरि आउनुपर्दैन तल भोट माग्न ? हामी चाँहिदैनौ ? बहुमत नपचेपछि के भन्दै आउनुहुन्छ ? भन्नुहोला ‘यो सरकारले विकास र समृद्धि दिएन त्यसैले फेर्न आँटेको’ । आधार के ? हिजो घोषणा पत्र एउटै थियो होइन र ? अनि को पात्र आउनुहुँदैछ नेतृत्व गर्न ? क. माधव ? क. प्रचण्ड ? क. झलनाथ ? क. बामदेव ? कि तपाई ? खोइ नयाँ योजना ? र काम नभए यति दिन र महिनामा राजीनामा दिन्छु भन्ने प्रतिबद्धता ? तपाईं ठेक्का लिनुहुन्छ कि अर्को नेतृत्व आएपछि सबै समस्या केही समयमै समाधान हुन्छन् ? समय लाग्छ भन्नू होला । अनि अहिलेको सरकारलाई चाहिँ समय चाहिँदैन थ्यो ? संघीयता कार्वान्वयन, कानुन निर्माण, कर्मचारी व्यवस्थापन लगायत काम राम्रो गर्यो भनेर त स्थायी कमिटीको बैठकले भनेकै हो त ? अरु राष्ट्रिय गौरबका आयोजना पनि अगाडि बढेका छन् । गाउँ गाउँमा सडक सन्जाल र विजुलिको काम रातदिन भैराखेको छ । हो, हुनुपर्नेजति भएन तर के यो सरकारको मात्रै दोष हो ? तपाईंहरुले चाहिँ के हेरेर बस्नु भो यतिन्जेल ?

भाषा अलिक रुखो भएकोमा माफी चाहन्छु नेता ज्यू तर अहिलेको अवस्थामा तपाईको ट्विट र फेसबुक स्टाटस अनि अन्तर्वार्ताको समर्थक नेकपा (तत्कालिन एमाले) समर्थक छैनन् , तत्कालिन माओवादीका केही स्वार्थी समुह र अन्य पार्टीवाला, जो साच्चै कम्युनिस्ट नेतृत्व देख्न चाँहदैनन र तपाईहरुलाई बोकेर घरको झगडा होस भन्ने चाहन्छन्, अनि जसले मिडियालाई सजिलै विश्वास गर्छन ति हुनसक्छन् । एकचोटी विचार गर्नुस् । ओलीको कार्यशैलिको आलोचक म पनि हुँ । अनियमितता र भ्रष्टाचार भएका रहेछन् र अहिलेको सरकारले कारवाही गरेन भने छातिमा गोलि थापेर लड्न हामी तयार छौँ । ५ वर्ष भनेको जे गरेपनि हुन्छ भनेर पठाएको होइन तर यो यस्तो डम्फु बजाउने बेला होइन । चाहे तपाईंहरु जे सुकै तर्क दिनुस, इतिहासले धिक्कार्नेछ तपाईंहरुलाई यदि सरकार गिराउने गणितको खेलमा साँच्चै लाग्नुभो र लाखौँ कार्यकर्ता अनि जनताको भावनामा बन्चरो हान्नुभो भने ।

अन्त्यमा, फेरिपनी सत्ता परिवर्तन आवश्यकता नै हो भन्ने अडान हो भने प्रष्ट भन्नुस् कारणहरु । जस्तै, वालुवाटारको अनियमितता को कारवाही हुन आटेकोले वा लडाकु शिविरको अमियमितताको फाइल खोलिन आँटेकोले वा त्यस्तै अरु केहि ? नत्र यति आपत किन ? यो अध्यादेश र सांसद्लाई काठमांडौ ल्याको बासी र काम नलाग्ने तर्क नदिनुहोला कृपया कम्तिमा हामी नेकपा समर्थक चाहिँ यो कुरा मान्दनौँ । जे भनेपनि हुन्छ जस्तो लाग्छ हो ? र अर्को कुरा, सरकारको नेतृत्व परिवर्तन गरेर पहिले नै कुर्सी ओगट्नु भएका कुनै एक नेतालाई राख्दा त झनै तिक्तता र निराशा बढ्छ आम मानिसमा । सचिवालयका नेताको प्रा.लि. होइन नेकपा । सबै दोस्रो, तेस्रो र चौँथो पुस्ताका नेताहरुको (५-६ ओटै गुटको भन्या है) छुट्टै बैठक बस्नुस्, हस्तक्षेप गर्नुस् , पार्टी र सरकारमा । मौका यहि हो । यदि साच्चै देश विकास र परिवर्तनको मुद्दा हो भने । ‘टेस्टेड’ अनि फेल नेताबाट केहि ठूलो परिवर्तन हुने छैन । उँहाहरुलाई हिजो आँफैले जानी–नजानी गरेका गल्तिबाट बच्ने र आफ्नो गुट अनि जग बलियो बनाउने कामले नै रुमल्ल्याउँछ । विदेशी शक्तिको ब्ल्याक्मेलिङ्ग, धम्की र दवाव त झन् डरलाग्दो नै छ । विशेषज्ञताको आधारमा सानो र छरितो मन्त्रीमण्डल बनाउछौँ र यो–यो गर्छौँ भनेर भन्नुस् सबै जनतालाई हामी सडकमा आएर साथ दिन तयार छौँ । तर, यो कामको लागि पनि यो महामारी साम्य हुन चाहिँ दिनुस् है कृपया । यदि मानवता बाँकी छ र जनताको माया छ भने । जो मरे पनि मरोस, कोरोना न सोरोना, हाम्रा नेता र हाम्रो पद सुनिश्चित हुनैपर्छ र त्यो आजै हुनुपर्छ भन्नू हुन्छ भने भन्नू केही छैन । धन्यवाद !

प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]