बैशाख १४, २०८१ शुक्रबार

मदन–आश्रित र नेपाली क्रान्ति

बद्रि भट्टराई

आज जेष्ठ ३ गते, तत्कालिन ने. क. पा.(एमाले)का तत्कालिन महासचिव जननेता क.मदन भण्डारी र कुशल संगठक क.जिवराज आश्रितको रहस्यमय जिप दूर्घटनाबाट हत्या गरिएको दिन । जनताका प्यारा नेताहरु ! दिवंगत भएको त्यो क्षण सम्झदा पनि आङ्ग जिरिङ्ग भएको दिन, रुवावासी भएको दिन, विचार र आन्दोलनका हिसाबले आफ्ना प्यारा नेताहरु गुमाएको दिन, विश्व कम्युनिष्ट आन्दोलनमा माक्र्सवाद–लेलिनवादको आ–आफ्नो मुलुक र राष्ट्रिय परिस्थिति अनुरुप माक्र्सवादको सृजनात्मक प्रयोग गर्ने सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलन भित्रको सृजनशिल विकासका प्रणेता र कुशल संगठक गुमाउनु परेको दिन ।

सन् १९९० को दशकमा विश्वमा खास गरि पूर्वी युरोपबाट कम्युनिष्ट आन्दोलन धरासायी भैरहेको समयमा कम्युनिष्ट पार्टीको झण्डा सगरमाथाको चुचुरोमा गाड्न सक्ने सामथ्र्य राख्न सक्ने कार्यक्रमका सारथीहरुको भौतिक शरीर समाप्त पारिएको दिन । कुन नेपालीले विर्सन सक्ला र ? अझ जनताको बहुदलीय जनवादको कार्यक्रमबाट लैश पार्टी कार्यकर्ताहरु, लाखौं समर्थक शुभचिन्तकहरु उहाँहरुलाई कसरी बिर्सन सक्लान र ? आजको यस घडीमा दिवंगत अग्रज नेता कमरेडहरु जननेता मदन कुमार भण्डारी, कुशल संगठक जिवराज आश्रितको २७ औ स्मृति दिवशको सन्दर्भमा वाहाँहरु प्रति हार्दिक श्रद्दासुमन !

नेपाली कम्युनिष्ट आन्दोलन औपचारिक रुपमा बि. सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापनासंगै नेपालमा क्रियाशिल बन्यो । स्थापनाकाल देखि नै नेपालको भूराजनीतिक अवस्थाको विश्लेषण गर्दै संस्थापक महासचिव क. पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई मूलत : लोकतान्त्रिक धारबाट अगाडि बढाउने अठोट गरेको देखिन्छ । केशरजंग रायमाझी बाहेकका अन्य कम्युनिष्ट नेताहरुले निक्कै पछिसम्म यहि धार हुदै कम्युनिष्ट पार्टी अगाडि बढाए । तर मुलुकको नेतृत्व गर्न सक्ने गरि कहिल्यै विकास हुन सकेन । बरु उल्टै वि.सं.२०१७ साल पछि नेपाली कम्युनिष्ट आन्दोलनमा फूट र विभाजनको होडबाजी नै चल्यो । वि. सं. २०२७÷२०२८ साल पछि नेपालमा भारतीय नक्शालवादी आन्दोलनवाट प्रभावित हुदै नौलो प्रकारको कम्युनिष्ट आन्दोलनको सुरुवात भयो । जुन झापा आन्दोलन को नामबाट चर्चित छ । यो आन्दोलनको विकसित रुप नै टुट फूट भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै वि. सं. २०३५ सालमा गठन भएको ने. क. पा. माक्र्सवादी — लेलिनवादी (माले) हुदै ने. क. पा. (एमाले) र हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हो ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनवादीले झण्डै दश बर्ष सम्म आफ्नो मार्गदर्शक सिद्दान्तको रुपमा माक्र्सवाद–लेलिनवाद र विचारधाराको रुपमा माओवादलाई स्विकार गर्दै अगाडि बढ्यो । वि. सं. २०४६ भाद्र ०९—१२ मा सम्पन्न तत्कालिन ने. क. पा. मालेको चौथो राष्ट्रिय महाधिवेशनबाट स्व. जननेता क. मदन कुमार भण्डारी महासचिवमा निर्वाचित हुनुभयो र शासन प्रणलीको रुपमा जनताको बहुदलीय जनवाद पारित भयो । बि. सं. २०४९ माघ १२-१८ मा समपन्न तत्कालिन ने. क. पा. एमालेको पाचौं राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको न्युनतम कार्यक्रमको रुपमा महाधिवेशन हलमा उपस्थित संख्याको दुईतिहाई बहुमतले पारित गर्यो । जसले गर्दा यो घटनाक्रमबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाल राष्ट्र, जनता र बस्तुगत परिस्थिति सुहाउदो मार्गदिशा निक्र्यौल गरिदियो, स्पष्ट पारिदियो ।

यस कार्यक्रमको तत्कालिन ने.क.पा. एमाले भित्र र बाहिर पनि चर्को आलोचना भयो । जतिसुकै आलोचना भए पनि ने.क.पा. एमालेका तत्कालिन महासचिव जननेता क.मदन कुमार भण्डारीको वाक्पटुता र अतुलनीय तार्किक क्षमताका कारण सबैखाले आलोचना निस्तेज भए । बि. सं. २०५० को सुरुवाति मै छिमेकी राष्ट्र भारतको कलकत्तामा आयोजना भएको विश्वका कम्युनिष्ट पार्टीका नेताहरुको भेलामा क. मदन कुमार भण्डारीले ज.ब.ज. को मुलभूत विशेषता र कार्यक्रमका सन्दर्भमा सम्वोधन गर्नुभयो । जसले विश्व कम्युनिष्ट आन्दोलनमा तरंग पैदा गरिदियो र ज.ब.ज.ले उचाइ प्राप्त गर्न सफल भयो । यही बिचमा जननेता क. मदन भण्डारी र कुशल संगठक क. जिवराज आश्रितको अवशान भयो । तत्पश्चात पार्टी भित्रका ज.ब.ज. प्रति फरक मत राख्नेहरु र ढुलमुलेहरु, समर्थन गर्नेहरु भन्दा तीन हात माथि उफ्रेर ज.ब.ज.को समर्थन र ब्याख्या गर्न थाले । त्यति मात्र कहाँ हो र सुरुमा ज.ब.ज.को विरोध गर्नेहरुले नै पार्टी नेतृत्व हत्याउन पुगे । जसले गर्दा मुलुक , जनता र तत्कालिन ने. क. पा. एमालेले समयमा कुशल नेतृत्व पाउन सकेन । परिवर्तन पछाडि धकेलियो । यो महाधिवेशनबाट ने.क.पा. एमालेले माओका विचारहरुबाट शिक्षा लिदै पार्टिका दस्तावेजहरुबाट विचारधारालाई परित्याग गरिदियो । ने.क.पा. एमाले क. पुष्पलालको अग्रदुत बन्दै कम्युनिष्ट आन्दोलनलाई पुर्णतया लोकतान्त्रीकरण गर्दै अगाडि बढ्यो ।

तत्कालिन ने.क.पा. एमालेको छैठौ राष्ट्रिय महाधिवेशन २०५४ साल माध १४–२० गते सम्पन्न भयो । यो महाधिवेशनले जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्गदर्शक सिद्दान्तको रुपमा सर्वसहमतिले पारित भयो । अव नेपाली क्रान्तिको मार्गदर्शक सिद्दान्तको रुपमा माक्र्सवाद लेलिनवाद मात्र रहेनन् । जनताको बहुदलीय जनवाद पनि थपियो । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा तत्कालिन ने.क.पा. एमालेले नेपालको आत्मगत तथा बस्तुगत परिस्थिति अनुसार आफ्ना राजनीतिक कार्यदिशा र कार्यभार सही ढंगले निक्र्योल गरेकै हुनाले र अन्य प्रजातान्त्रिक तथा वामपन्थी पार्टिहरु शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट नेपालको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहमत हुदै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ संयुक्त जन आन्दोलन वि. सं. २०६२/६३ अगाडि बढ्यो ।

त्यस्तै गरि तत्कालिन ने.क.पा. एमालेको वैचारिक धार संग असहमति राख्ने अन्य वामपन्थी पार्टीहरु खास गरी चौथो महाधिवेशन समूहबाट टुटफूट अनि एकता–विभाजन हुदै पुनः एकताको प्रक्रियाबाट अगाडि बढेको तत्कालिन ने.क.पा. माओवादी पार्टीले वि. सं.२०५२ साल बाट शसस्त्र जनबिद्रोह मार्फत नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापना गर्नेगरी जनयुद्दको थालनी गर्यो । वि. सं. २०५७ को दोश्रो राष्ट्रिय सम्मेलनबाट नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा एक्काइसौ शताव्दीको जनवाद र कार्यक्रमको प्रचण्डपथ अंगिकार गर्यो ।

तत्कालिन ने.क.पा. माओवादी पार्टी भित्र छिटो छिटो गरि दुई लाइनको संघर्ष चर्को रुपमा अगाडि बढिरहेको थियो र जनमानसमा एकखालको लोकप्रियता जस्तो देखिए पनि पार्टी भित्र जनयुद्द भालुको कान छोड्नु न समाउनु भैसकेको थियो । पार्टी भित्र जनयुद्दको कार्यक्रम परिवर्तन भै एक्काइसौं शताव्दीको जनवाद पारित भैसके पछि पार्टी नेतृत्व धरापमा पर्यो । यहि नेर भन्न सकिन्छ, त्यहाँ भित्र पनि विभिन्न विचार समूहहरु थिए । पार्टी नीति कुनै एउटा समूहको अगुवाइमा स्थापित गरियो र नेतृत्व अर्कै समूहले गर्यो।कार्यक्रम एका तिर तथा कार्य रुप अर्का तिर । खास तयारी विनाको जनयुद्दको थालनी हतारमा गरिएको थियो। पार्टी नीति अनुसारकोनेतृत्वको माग उठ्नु पूर्व नै जनयुद्दको औचित्य पुष्टि गर्न र गुम्न लागेको नेतृत्व बचाउ गर्न एक्काइसौ शताब्दीको जनवाद पारित भएको केही समय पछि प्रचण्ड पथको बाटो अख्तियार हुनु जनवादको वेवास्ता गर्दै नेतृत्वको अधिकारको केन्द्रिकरण गर्नु नै हो ।

वि. सं. २०५८ सालमा नेपालको परम्परागत राजतन्त्रको नारायणहिटी राजदरवार परिसर भित्रै रहस्यमय हत्या गरियो । त्यस पछि ज्ञानेन्द्रलाई राजा घोषित गरियो । वि. सं. २०५९ मा नेपालका राजनीतिक दल माथि प्रतिबन्ध लगाइयो । तत्कालिन ने.क.पा.एमाले लगाएतका संसदवादी दलहरु शान्तिपूर्ण जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्न क्रियाशिल बने एकातिर भने अर्कातिर शसस्त्र जनयुद्द गरिरहेको ने.क.पा. माओवादी पनि १२ बुदेँ सहमति पछि हतियारबन्द आन्दोलन स्थगित गर्दै शान्तिपूर्ण जनआन्दोलनमा सामेल भयो ।

वि.सं.२०६२/६३ मा नेपाली काँग्रेस, ने.क.पा.एमाले लगायत अन्य साना ठुला दलहरु र अप्रत्यक्ष ढंगबाट ने.क.पा. माओवादी समेतको अगुवाइमा शान्तिपूर्ण ऐतिहासिक दोश्रो जनआन्दोलन सम्पन्न भयो । विघटित प्रतिनीधि सभा पुनस्र्थापित भयो । ने.क.पा. माओवादीको तर्फबाट समेत संसदमा बलियो प्रतिनीधित्व भयो । यसको मतलव अव ने.क.पा. माओवादी पनि संसदीय प्रणालीलाई स्वीकार गर्दै राजनीतिको मूलधारमा प्रवेश गर्यो । जनमुक्ति सेना क्यानटनमेन्टमा राखियो र पछि समायोजन गरियो ।

वि.सं.२०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भयो । वि.सं. २०६५ साल जेष्ठ १५ गते संविधान सभाको पहिलो बैठक बाट गणतन्त्र घोषणा गरियो । निर्वाचनबाट ने.क.पा. माओवादी संविधान सभाको सवभन्दा ठूलो दलको रुपमा स्थापित भयो । ने.क.पा. एमाले समेतको संलग्नतामा क. प्रचण्डको नेतृत्वमा सरकार बन्यो । तत्कालिन प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई हटाउने कार्य अगाडि बढाउँदा ने.क.पा एमालेले सरकारको समर्थन फिर्ता लियो । प्रधानसेनापति हटाउन नसक्दा तत्कालिन प्रधानमन्त्रीले राजिनामा दिनुपर्यो । निर्वाचन सम्पन्न भएको मितिले दुई वर्ष भित्रमा नयाँ संविधान बनाउन सकेन संविधान सभाले । समय थप गरियो । तथापि थपिएको समय सिमा भित्र पनि पहिलो संविधान सभाले संविधान दिन सकेन ।

अन्ततः वि. सं.२०७० मंसिर ०४ गते संविधान सभाको दोश्रो निर्वाचन सम्पन्न भयो । यो निर्वाचनबाट नेपाली कांग्रेस पहिलो, ने.क.पा. एमाले दोश्रो र ने.क.पा. माओवादी तेश्रो ठूला दलको रुपमा स्थापित भए । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो । देशी विदेशी तत्वहरुले नचाहादा नचाहदै वि. सं.२०७२ साल आश्विन ०३ गते संघीय गणतन्त्र नेपालको संविधान जारी भयो । यि सबै उपलब्धीहरु कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण र सहि कार्यनीतिको कार्यान्वयनबाट नै सम्भव भएको हो ।

संविधान जारी भए पश्चात संविधानतः निर्वाचन नियमावली लगाएतका कानूनहरु निर्माण र तयारी पछि वि. सं.२०७४ साल आषाढ १४ गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । त्यसै गरी वि. सं.२०७४ मंसिर २७ गते संघीय र प्रदेश सभा सदस्यको निर्वाचन गरियो । स्थानीय निर्वाचनमा एक्लै ने.क.पा. एमाले ले अपेक्षाकृत विजय हासिल गर्यो । संघ र प्रदेशको निर्वाचनमा ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रले झण्डै दुई तिहाई बहुमत हासिल गर्न सफल बने । यो निर्वाचन पछि ने.क.पा अध्यक्ष क. केपी ओलीको नेतृत्वमा सरकार संचालन भैरहेको छ ।

आज जेष्ठ ३ गते नेपालका श्रमजीवि जनता र कम्युनिष्टहरुका लागि अर्को पनि गौरव पूर्ण दिन हो । जननेता क. मदन कुमार भण्डारी र कुशल संगठक क. जिवराज आश्रितको स्मृतिमा राष्ट्र र जनताको नाममा कसम खादै नेपालका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन ने.क.पा. एमाले र तत्कालिन ने.क.पा. माओवादी केन्द्र एकिकरण गरिएको दिन । दुई फरक धारबाट विकसित पार्टीहरु आफ्ना सबै पुराना कमिकमजोरीहरु, घमण्ड, द्वेश, अपरिपक्कता, षडयन्त्र, जालझेल, गुटफूट र आफू भित्रकै राजनीतिक सौदाबाजीलाई देश र जनताको हितमा तिलान्जली दिदै पार्टी एकता घोषणा गरिएको दिन । यसको नेपाली राजनीतिमा मात्र होइन, अन्तराष्ट्रिय जगतमा पनि उत्तिकै महत्व भएको जगजाहेर नै छ । यस महत्वपूर्ण घडिमा दुई ठूला कम्युनिष्ट पार्टीहरु एकता गर्न पहलकदमी गर्नुहुने अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्ड प्रति हार्दिक सलाम ब्यक्त गर्नु सान्दर्भिक हुनेछ ।

आज ने.क.पा. र यसको नेतृत्वमा भएको सरकार प्रति नेपाली जनताका अनन्त आशाहरु छन्, पार्टी र सरकार प्रति अगाध आस्था र प्रेम छ, सवैको आशा भरोशाका केन्द्रको रुपमा दुई अध्यक्ष हरु हुनुहुन्छ । दुई दुई वर्षसम्म पार्टी एकतालाई नटुङ्गयाउनुमा शंका उत्पन्न भएका छन् । दुई अध्यक्ष विचमा तिक्तता देखिदैछ । केहि दिन यता सर्वाङ्ग हुने गरिका हल्लाहरु सुनिदै छ । कतै तपाईँहरु अझै तेरो मेरो गरिरहनु त भाछैन ? पार्टी एकतालाई धरापमा त पारिरहनु भा छैन ? अध्यक्षद्वय समझदारिपूर्ण ढंगबाट अगाडि बढ्दा मुलुक बन्छ, जनता समृद्ध हुन्छन तथा पार्टि निर्माण हुन्छ । अनावश्यक प्रतिस्पर्धा गर्दा सबै भताभुङ्गं हुन्छ । भो अव धेरै जनताको आशामा बन्चरो नहान्नुहोस् । अध्यक्षहरुले होस्ते गर्नुस् कार्यकर्ता र जनताहरुले हैँसे गर्नेछन । आजैका दिन सवभन्दा पहिला दुई अध्यक्षहरुले यस शुभ कार्यको प्रतिवद्धता गर्नुपर्नेछ ।

कोभिड–१९ लाई परास्त गर्न, पार्टी एकताको वाँकि काम सिघ्रातिसिघ्र सम्पन्न गर्न, पार्टी एकता अझ शसक्त बनाउन, समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई उचाईमा पुर्याउन, पार्टीको ऐतिहासिक एकताको राष्ट्रिय महाधिवेशन समयमा सम्पन्न गर्न जनताको चहर्याईरहेको घाउमा मल्हम पट्टी लगाउन संकल्प गर्नुहोस् । तपाइँहरुको उचित कदमको सारा देशवासीले प्रतिक्षा गरिरहेका छन्, लाखौं कार्यकर्ता र करोडौ जनताहरुले व्यग्रतापूर्वक पर्खिरहेका छन् ।
अन्त्यमा, जनताको बहुदलीय जनवाद र एक्काईसौं शताब्दीको जनवादका मूलभूत विषयहरु समेट्दै पार्टीले आफ्नो कार्यक्रम जनताको जनवाद महाधिवेशन सम्मका लागि तय गरेको छ । महाधिवेशनको कार्यक्रम घोषणा भए पछि छलफलमा भाग लिने प्रतिबद्धता व्यक्त गर्दछु ।

मदन–आश्रित लगाएत वीर शहिदहरु– अमर रहुन ।
भारतद्धारा हस्तक्षेप गरिएको भुमि–फिर्ता गर् ।
जनताको बहुदलीय जनवाद – जिन्दावाद ।
महान् समाजवादी क्रान्ति– जिन्दावाद ।

प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]