प्रहरीलाई घुस दिन खोज्ने दमकका कार्की पक्राउ
बिर्तामोड । थुनामा रहेका व्यक्तिलाई लुकाएर लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन प्रहरीलाई घुस दिन खोज्ने झापा दमक–१६ का अभिषेक कार्की पक्राउ परेका छन् ।
कार्कीले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ घुस दिन खोजेका थिए ।

गत सोमबार लागुऔषध मुद्दाका थुनुवा कालिकोट राजकोट–६ का नवीन शाही ठकुरीलाई भेट्न जाँदा भाइ पुजन बम ठकुरी र साथी धर्मेन्द्र लिम्बुले चाउचाउमा लुकाएर लागूऔषध लगिदिएका थिए ।
अहिले पुजनविरुद्ध लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ भने लिम्बु साधारण तारेखमा छुटेका थिए । लिम्बुलाई जिम्मा लिएर उनै कार्की गएका थिए । प्रहरी निरीक्षक गिरीले कार्कीलाई तत्कालन नियन्त्रणमा लिएर वृत्तका प्रमुख डीएसपी कुमारविक्रम थापालाई जानकारी गराए ।
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीलाई खबर गरेर घुस दिन लागेको रकमसहित अनुसन्धानका लागि बुझाएका छन् ।
अख्तियारले कार्कीको साथमा रहेको १ लाख २० हजार रुपैयाँ पनि बरामद गरेको छ ।