Uncategorized

दुर्व्यवहार गर्ने ऋणी सदस्यको हर्कत घृणित र निन्दनीय

दुर्व्यवहार गर्ने ऋणी सदस्यको हर्कत घृणित र निन्दनीय


सम्पादकीय

पछिल्लो समय केही ऋणीहरूले विभिन्न बहाना र उक्साहटमा लागेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्क्याउने गरेका घटना सार्वजनिक भइरहेका छन् । कतिपय अवस्थामा सहकारीका कर्मचारीमाथि धावा बोल्ने, दुर्व्यवहार हातपात गर्ने जस्ता कार्यमा ऋणी सदस्यको संलग्नता देखिएको छ । पछिल्लो उदाहरणका रूपमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको घटनालाई लिन सकिन्छ । ऋणी सदस्यले मोरङमा सहाराका कर्मचारीलाई जुत्ताको माला लगाएर जुन किसिमको दुर्व्यवहार गरेका छन्, यो आफैँमा एउटा घृणित र निन्दनीय प्रयास हो ।

आपतमा परेका बेला रुँदै कराउँदै ऋण लिने तर तिर्ने बेलामा कर्मचारीमाथि हप्कीधप्की गर्ने, दुर्व्यवहार गर्ने कुनै पनि ऋणीको प्रयासलाई सही मान्न सकिँदैन । वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने छुट कसैलाई छैन । कानुनले यसो भन्न पनि दिँदैन । यस्तो अवस्थामा कोही कसैको उक्साहटमा लागेर ऋण तिर्दिन भन्नु बेकार हुन्छ । आजका दिनमा कतिपय ऋणी सदस्यलाई आफूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा पनि हुन्छ भन्ने लागेको होला, यो एउटा फगत भ्रम मात्रै हो । कानुनी राज्यमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तीन पुस्ताबाट असुल हुन्छ । यसकारण कोही पनि भ्रममा पर्न हुँदैन । कतिपय अवस्थामा जुन प्रयोजन वा उद्देश्यले ऋण लिएको हो, वा लगानी गरिएको हो त्यस अनुसारको प्रतिफल प्राप्त नभएको हुन सक्छ । यस्तो अवस्थामा ऋण सदस्यहरू अप्ठ्यारोमा परिरहेका हुन सक्छन् । त्यस्तो अवस्थामा ऋण सदस्यहरूलाई सहजीकरण गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरू उदार हुन जरुरी छ ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा कर्मचारी कोही ऋणी सदस्यको घरमा जाँदा इज्जत जान्छ भन्ने ठान्नु हुँदैन । ऋणी सदस्यले सकेसम्म संस्थामा आफै आएर आफ्ना समस्या राख्ने, तिर्नका लागि भाका माग्ने वा सहजीकरण गरेको खण्डमा कोही कसैको घरमा गइरहनुपर्ने जरुरत पर्दैन । जब ऋण सदस्यहरू सम्पर्क बाहिर रहन खोज्छन्, त्यो बेला बैंक तथा वित्तीय संस्थाबाट सञ्चालक वा कर्मचारीहरू उनीहरूको घरमा जानुपर्ने बाध्यता आइलाग्छ । यस्तो अवस्थामा ऋणीहरूबाट गरिने दुर्व्यवहार आफैँमा निन्दनीय विषय हो । यस्तो दुर्व्यवहारमा संलग्न जो कोही ऋणी सदस्यमाथि कारबाही हुनुपर्छ । सहकारीका कर्मचारीमाथि दुर्व्यवहार गर्ने र भिडियो बनाउने विषय झन् ठूलो अपराध हो । यसलाई कानुनले सामान्य रूपमा लिनु हुँदैन । भिडियो बनाएर सार्वजनिक रूपमा मानमर्दन गर्ने जुन हर्कत गरिएको छ त्यो आफैँमा दण्डनीय विषय हो ।

शेयर गर्नुहोस :

189
Shares