Uncategorized

निपाह भाइरसको जोखिमबाट सतर्क रहौं

निपाह भाइरसको जोखिमबाट सतर्क रहौं


सम्पादकीय
भारतको पश्चिम बंगालमा घातक निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको पूर्वी नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । काँकरभिट्टा–रानीगञ्ज पानीट्याँकी जस्ता खुला सीमाबाट दैनिक हजारौँ मानिस आवतजावत गर्ने हुँदा संक्रमणको जोखिम उच्च छ । सामान्य लापरवाहीले पनि ठूलो जोखिम निम्त्याउन सक्ने कारण स्थानीय पालिकाले चेकजाँचमा प्राथमिकता दिएको छ । निपाह भाइरस मानव–मानव सर्ने, उच्च मृत्युदर भएको र उपचार सिमित भएको रोग भएकाले यसलाई सामान्य फ्लुजस्तो ठान्नु घातक हुने चिकित्सहरुको धारणा छ ।

निपाह भाइरस प्रायः फलफूल खाने चमेरोबाट मानिसमा सर्छ । संक्रमित फल, काँचो खजुरको रस, वा संक्रमित व्यक्तिसँगको नजिक सम्पर्कबाट पनि फैलिन सक्छ । लक्षणमा ज्वरो, टाउको दुखाइ, श्वासप्रश्वासमा समस्या, बान्ता र गम्भीर अवस्थामा मस्तिष्कमा संक्रमण (एन्सेफलाइटिस) देखिन सक्छ । प्रारम्भिक पहिचान र आइसोलेसन नहुँदा संक्रमण तीव्र रूपमा फैलिने जोखिम हुन्छ । यो अवस्थामा सीमा, समुदाय र स्वास्थ्य प्रणालीमा काम गर्न जरुरी छ । सीमा नाकामा कडा निगरानी गरेर प्रवेशद्वारमा थर्मल स्क्रिनिङ, स्वास्थ्य घोषणा फाराम, लक्षण देखिएका यात्रुको तुरुन्त आइसोलेसन र आवश्यक परे क्वारेन्टिनको व्यवस्था अनिवार्य गरिनुपर्छ । भारतबाट आउने यात्रुको ट्राभल हिस्ट्री र सम्पर्क विवरण सुरक्षित राख्ने प्रणाली बनाउनु पर्छ । जसले नेपाल भित्रिनेहरुबाट संक्रमण फैलने जोखिम नहोस् ।

यो जोखिमबाट सुरक्षित रहन समुदायस्तरमा सचेतना फैलाउन अपरिहार्य छ । निपाहको लक्षण, सर्ने तरिका र सावधानीबारे विभिन्न माध्यमबाट सचेतनामुलक सूचना फैलाउनुपर्छ । काँचो फलफूल राम्रोसँग धोएर मात्र खाने, खजुरको काँचो रस नखाने, बिरामीसँग नजिक सम्पर्क नगर्ने र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाने सन्देश स्पष्ट हुनुपर्छ । पशु–मानव सम्पर्क बढी हुने क्षेत्रहरूमा विशेष निगरानी जरुरी छ । जिल्लास्तरका अस्पतालमा आइसोलेसन वार्ड, पीपीई, परीक्षण क्षमता र रिफरल संयन्त्र तयार राख्नुपर्छ । स्वास्थ्यकर्मीलाई निपाह शंकास्पद केसको व्यवस्थापन तालिम दिनुपर्छ । संघ–प्रदेश–स्थानीय तहबीच सूचना आदान–प्रदान छिटो र पारदर्शी हुनुपर्छ । खुला सीमा नै हाम्रो चुनौति हो । यसैले सतर्कता, समन्वय र जिम्मेवार व्यवहारले मात्र संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।

शेयर गर्नुहोस :

108
Shares