अभिव्यक्ति फिर्ता लिंदै चौधरीले भने– प्रेस जगतमा शुद्धिकरण आवश्यक

झापा । इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु,’ भनेका छन् ।
उनले आफू उदण्ड प्रवृत्तिको व्यक्ति नभई अनुशासित व्यक्ति रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘गएको जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमार्फत आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले उहाँ र सिंगो सञ्चार जगतमा पर्नको चोटप्रति दुःख प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो सञ्चारजगत प्रति चोट पुर्याउने कुनै मनसाय नरहेको र प्रेस स्वतन्त्रता प्रति आफू प्रतिबद्ध रहेको पनि चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।साथै मेयर चौधरीले इटहरीको समृद्धि र विकासमा सञ्चारजगतसहित सबैको साथ आवश्यक रहेको पनि बताए ।
आफू भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियानमा रहेको र यो अभियानमा सञ्चारजगको पनि रचनात्मक भूमिका अपरिहार्य रहेको भन्दै त्यसका निम्ति सहयोग र सहकार्य राख्न आग्रह गरेका छन् ।
मेयर चौधरीले विज्ञप्तिमा प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र शुद्धृढिकरण गर्नुपर्ने संकेत गरेका छन् ।