बैशाख ९, २०८२ मंगलबार

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ ।
शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए ।


विभिन्न ५७ राष्ट्रका ६९ जना विशेषज्ञ सहभागी रहेको सो मञ्च अप्रत्यक्ष रुपमा चीन नेपाल सहकार्यमा केन्द्रितजस्तो देखिन्थ्यो । अन्य देशका विज्ञले पनि बिआरआईमा तिब्बतको भूमिका शीर्षकमा बोल्दा प्राय सबैले नेपालको प्रसंग उठाएका थिए । सबैको भनाइको निचोड चिनियाँ रेललाई हिमालय पार गराएर नेपाल पुर्याउनुपर्ने भन्ने थियो ।


नेता छीले पनि सिगाच्छे पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए । नेपालसँगको मित्रतालाई तिब्बती नेता छीले निकै साहित्यिक तरिकाले व्यक्त गरे । उनले भने, ‘जब दुई मुटु नजिक हुन्छन् तब अग्ला पहाडहरुको कुनै डर हुँदैन ।’ यही भावनामा रहेर यही वर्षको सुरुदेखि चिनियाँ सार्वजनिक कल्याण संस्थाले नेपालका प्राथमिक तहका विद्यार्थीलाई झोला र अन्य सामग्री वितरण गरेको उनले बताए ।


चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए । लार्चा सुक्खा बन्दरगाह तयार भएको र केरुङमा पनि सुक्खा बन्दरगाह बनाउने उल्लेख गर्दै नेता छीले नेपालको पूर्वाधार विकासमा चीनले लगातार सहयोग गर्दै जानेमा जोड दिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]