युवतीमाथि सिलसिलेबार सिरिन्ज आक्रमण
काठमाडौं । पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिए ।

सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए ।
‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् । घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा बाँस्तोलाले भने ।
एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका रहेको खबर नयाँ पत्रिका दैनिकमा छ । एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ ।
तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन् ।