नालीमा डुवेर मृत्यू हुनेको परिवारलाई निर्माण कम्पनीले ५ लाख क्षतिपूर्ति दिने
बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माण गर्ने निर्माण कम्पनी आशिष–प्रेरा जेभीले नालीमा डुवेर मृत्यू हुने ६७ वर्षीया सुमित्रा राईको परिवारलाई ५ लाख क्षतिपूर्ति दिने भएको छ ।

आज विहान निर्माणाधिन बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत मेची आँखा अस्पताल नजिकै राईको शव फेला परेको थियो । ठेकेदारको लापरबाहीका कारण ज्यान गुमाएको भन्दै स्थानीय र आफन्तले विरोध जनाएका थिए । सडक निर्माणको क्रममा जथाभावी खाल्डाखुल्डी , नाली खनिएको र अव्यवस्थित बनाएकोले वद्धाको ज्यान गएको आफन्तले दावी गरेका थिए । शव फेला परेपछि घटनास्थलमा केहिवेर तनावग्रस्त बनेको थियो ।
स्थानीय र आफन्तले ठेकेदार कम्पनीको लापरबाहीले ज्यान गुमाएको भन्दै क्षतिपूर्तिको माग गरिएको थियो । शव समेत उठाउन नमानेपछि स्थानीय सुरक्षा निकाय, नगरपालिका, मृतकका आफन्त र निर्माण कम्पनी बिच भएको छलफलले प्रोजेक्टको इन्सुरेन्सबाट आउने विमा रकमबाट ५ लाख दिने, निर्माणधिन सडक समय मै सम्पन्न गर्ने र निर्माणको क्रममा खनिएका खाल्डोमा जोखिमको पहिचान गरेर सूचना राख्ने, घेरावारा गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनीमा प्रमुख डिएसपी मोहन थापाले जानकारी दिए ।
सो सहमति पछि शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ ।