रवि समर्थकमाथि अश्रुग्यास प्रहार, १० जना गिरफ्तार
चितवन — आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

ढुंगा प्रहारबाट चार प्रहरी घाइते भएका छन् भने १० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।
टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चिवतनमा आइतबार ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दायर भएको छ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।
उक्त मुद्दामा आइतबारबाटै अभियुक्तहरुमाथि बयान सुरु भएको छ। तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान सकिएको छ भने लामिछाने र कँडेलको बयान सोमबारलाई सरेको अदालतले जनाएको छ।