जेसीजको क्षेत्र (क) सम्मेलन उद्घाटन गर्दै नेता खनालले भने – राष्ट्रियता मजबुद बन्दैछ
भद्रपुर । झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आजदेखि सुरु भएको छ । भद्रपुरस्थित सिटी गार्डेन होटेल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा सुरु भएको जेसीज क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपाली समाजको गन्तव्य भनेकै समाजवाद ल्याउनु हो ।’ हामी सबैको साझा संविधानमै त्यो कुरा उल्लेख रहेको बताउँदै उनले भने, ‘समाजवाद कसरी बन्छ, समाजवादमा हामी कसरी पुग्छौ, वास्तवमा अहिलेका युवा पुस्ताले यसलाई गम्भीर रूपमा सोच्नु पर्ने हुन्छ ।’ संविधानले दिएको अधिकार अनुसार लोकतन्त्रलाई हामीले संरक्षण गर्दै अघि बढ्नु पर्ने बताउँदै नेता खनालले भने, ‘जोसँग धन छैन, उसले निर्वाचन लड्न सक्दैन, उ जनताको प्रतिनिधि बन्न सक्दैन, त्यसैले देशको निर्वाचन प्रणालीलाई सुधार गर्ने जरुरी छ, अनि मात्र लोकतन्त्र व्यवस्थित र बलियो हुन्छ ।’
देश समाप्त हुन्छ कि भन्न प्रसंगमा बोल्दै उनले भने, ‘देशको राष्ट्रियता अझै पनि कमजोर छ, धेरै लामो समयदेखि राष्ट्रियतालाई कमजोर बनाउने काम भएको छ, तर हामी नेपालीहरू देशभक्त छौ, जनताको संघर्ष, प्रतिकार, प्रतिरोधले राष्ट्रियतालाई बिस्तारै बलियो बनाउने दिसामा अघि बढाएका छौ ।’ ‘अहिले पनि देशको सीमा विवादमा छ, हामीले अहिलेको नक्सा भनेर बालबालिकालाई पढाइरहेको छौ, त्यसो होइन,’ उनले भने, ‘अझै पनि कालापानी र सुस्ता विवादमा छ, हाम्रा पुर्खाहरूले अहिलेको सिमानालाई मानेको छैन, राष्ट्रियतामाथि विवाद खडा गर्नु खोजिएको छ ।’
कार्यक्रममा समाजसेवी तथा दाता दिनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको थियो । भद्रपुर नगरपालिकाको उपप्रमुख चन्दामाया श्रेष्ठ, उद्योगी पशुराम अग्रवाल र कृष्ण दाहाललाई मानार्थ सदस्यता प्रदान गरिएको हो । जेसीजको क्षेत्र क सम्मेलनमा ४० वटा शाखाबाट ५ सय सदस्य र पर्यवेक्षक १ सय ५० गरी ६ सय ५० भन्दा बढी जेसीजकर्मी सहभागी छन् ।