घर पाएपछि गिताले भनिन्, यसपालीको भोट मात्र खेह्र गएन
बिर्तामोड । चुनावमा घर नभएकालाई घर बनाइदिने भन्दै भोट माग्ने बिर्तामोडका जनप्रतिनिधिले धमाधम विपन्न नागकिरलाई घर हस्तान्तरण गर्न थालेका छन् । हप्तादिनभित्र नगरले ७६ विपन्न परिवारलाई आवास हस्तान्तरण गर्दै कोहि पनि आवास बिहीन हुनु नपर्ने बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।

बिर्तामोड–७ मा केहि दिन अघि ३४ परिवारलाई आवास उपलब्ध गराएको नगरपालिकाले आज बिर्तामोड–८ मा रहेका विपन्न सन्थाल परिवारलाई ४२ घर हस्तान्तरण गरेको छ । घर पाएका अधिकांश सन्थाल समुदायका परिवारले घर पाएपछि रोजगारको सवाल पनि उठाएका छन् । उनीहरुले बिर्तामोड नगरले घर उपलब्ध गराउने भन्ने आफुहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए । घर पाएपछि दंग भएकी गिता हस्ताले यसपालि मात्र सरकार छ भन्ने लागेको सुनाइन् । उनले भनिन्, तिन पटक चुनावमा भोट दिए । यसपाली मात्र खेह्र गएन ।
चिया मजदुरी गरेर जीविकोपार्जन गर्ने हस्ताले छोराछोरीको पठनपाठनमा बिर्तामोड नगरले सहयोग गरिदिए हुन्थ्यो भन्ने सोचेकी छन् । ‘मेरो छोरीले कक्षा १२ पास गरी, उसलाई थप अध्ययन र रोजगारीको आवश्यक छ ।’– हस्ताले भनिन् । फुस्कोबाट पक्का पिलर सहितको टिनको छाना भएको घर पाएकी उनले बिस्तारै ईटा लगाएर कैची बटम गरिदिन आग्रह गरेकी छन् ।
यस्तै काईली मुर्मूका श्रीमानलाई अहिलेसम्म कति पटक भोट हालेको भन्ने थाहा छैन । उनले यसपाली मात्र भोट हालेको जस्तो लागिरहेको सुनाए । यसपालीको भोटले घर पाए, पहिले–पहिले धेरै भोट हाले पनि केहि पाइएन । कृषि मजदुरी गर्ने मुर्मू अर्काको साढे तिन विगाह जमिन अधिँया गर्छन् । खानलाउन मात्र ठिक्क हुन्छ कसरी घर बनाउनु, मुमूले भने ।
६७ वर्षीय सोम सोरेनको खुशी पनि उस्तै छ । जीवनभर जनमजदुरी गरे पनि राम्रो घर बनाउने सपना पुरा भएन । उनले भने, काम नगरी खान नपाउने हामीले कसरी घर बनाउनु ? उनले भोट हाले वापत पहिलो पटक सरकारबाट घर पाएकोमा खुशी व्यक्त गरेका छन् ।
तराई मधेश समृद्धि कार्यक्रम र १ नम्बर प्रदेशको निर्वाचन विकास पूर्वाधार कार्यक्रम, विर्तामोड नगरपालिकाको लगानीमा र सहारा नेपाल, ह्याविटाट फर ह्यूम्यानिटीको प्राविधिक सहयोगमा निर्माण भएको घर प्रदेश सांसद एकराज कार्की, नगरका मेयर शिवाकाटी र सहाराका प्रमुख महेन्द्र गिरीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद कार्कीले संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हक सुनिश्चित गर्न आवास निर्माण गरेको जानकारी दिए । उनले वर्तमान सरकार नेपाली जनताको पक्षमा रहेकोले भ्रम छर्नेहरुको भ्रममा नपर्न आग्रह गरे । कार्कीले भने, अहिलेसम्मको इतिहासमा कुनै सरकारले गर्न नसकेको काम वर्तमान सरकारले गरिरहेको छ । तपाईहरु भन्नुहोस्, यो भन्दा पहिले कुनै सरकारले घर दिएको थियो ?
यस्तै, मेयर शिवाकोटीले बिर्तामोडभित्रका कुनै पनि विपन्न परिवार आवास बिहीन हुनुनपर्ने बताए । उनले निर्वाचनमा गरिएको बाचा पुरा गर्दै संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गरेको जानकारी दिए । आवास निर्माणको साझेदार संस्था सहाराका प्रमुख गिरीले स्थानीय सरकारसँग मिलेर विपन्न नागरिकलाई आवास निर्माण गर्दै सामाजिक जिम्मेवारी पुरा गरेको बताएका छन् । सहारा विपन्न नागरिकको साथमा छ, गिरीले भने– हामी आवास निर्माणको कामलाई निरन्तरअघि बढाउने छौं । सहराले जिल्लाको ८ स्थानीय तहमा साझेदारीमा आवास निर्माण गर्दै आएको छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले अर्को वर्ष ४ करोडको लागतमा २ सय घर निर्माण गर्ने बताएका छन् । उनले विपन्न परिवारको पहिचान गरेर आवासबिहीनलाई आवास उपलब्ध गराइने बताए । उनले वित्तिय क्षेत्रबाट सहारा नेपालले गरेको योगदान सराहनीय रहेको धारणा राखेका छन् । यस प्रकारका सेवामुलक काम सबै वित्तिय संस्थाले गनुपर्ने उनको भनाई छ ।
नगरले निर्माण गरेका घरमा उपभोक्ता समिति, प्रशासन प्रमुख देवराज कार्की, योजनाका जय तिम्सिना, कार्यपालिका सदस्य सुरेन राजवंशी लगायतले गरेको योगदानको प्रशंसा गरिएको छ ।