विर्तामोड । नेपाली काँग्रेस झापा क्षेत्र नं. २ ले गत निर्वाचनमा काँग्रेसले हार्नुपर्ने प्रमुख कारण, काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भूमिका, कम्युनिष्टहरुले जनतामा फैलाएको भ्रमलाई चिर्न आगामी दिनको रणनीतिका विषयमा गम्भीर समिक्ष गरेको छ ।

शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा २ नम्बर क्षेत्र अन्तर्गत प्रदेश क र खद्वारा संयुक्तरुपमा आयोजित स्थानीय तहका जनप्रतिनिधिको दुइवर्षे कार्यकालको समीक्षा कार्यक्रममा तीनवटा समूह बनाई ब्यापक छलफल गराइएको थियो ।
कांगे्रसबाट निर्वाचित जनप्रतिनिधि, कांग्रेसबाट उम्मेद्वार भइ उपबिजेता भएका जनप्रतिनिधि र पार्टीको नेतृत्व तहको अलग अलग समूह बनाई बिषयगत छलफल र निष्कर्ष निकालिएको थियो ।
उपविजेता टोलीका तर्फबाट छलफलको प्रतिवेदन पेश गर्दै बिर्तामोड नगरपालिकाका मेयरका उम्मेद्वार जलकुमार गुरुङले ‘मैले टिकट पाए ठीक, उसले पाए बेठीक’ भन्ने व्यक्ति केन्द्रीत मनोवृत्ति र अन्तर्घातका कारण कांग्रेसले देशैभर धेरै स्थानमा कम्युनिष्टहरुसंग पराजय भोग्नुपरेको सुनाए । कांग्रेसभित्र महारोगको रुपमा रहेको यो स्वार्थी प्रवृत्तिलाई नत्यागेसम्म देश र जनताले अझै धेरै दुःख पाइरहने उनको भनाई थियो ।
अर्का प्रस्तुतकर्ता अर्जुनधारा नगरपालिकाका मेयरका प्रत्यासी हेमराज खरेलले समयमै उम्मेद्वारको टिकटको टुङ्गो लगाउन नसक्नु, चुनाव प्रणाली अत्यन्तै खर्चिलो भइ दिंदा उम्मेद्वारलाई खर्च धान्न धौ–धौ पर्नु, कांग्रेसले शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रदान गरेको नेतृत्वदायी भूमिकाको जनतामा व्यापक प्रचार गर्न नसक्नु आदिका कारण पनि कांग्रेसले चुनाव हार्नु परेको निष्कर्ष सुनाएका छन् ।
बिजेता जनप्रतिनिधिका तर्फबाट अर्जुनधारा वडा नं. ३ का वडाध्यक्ष जीवन भण्डारीले केन्द्रीय सत्ता कम्युनिष्टको हुँदाहुदै पनि काँग्रेसका जनप्रतिनिधिले जनताको बिश्वास जित्नेगरी काम गरिरहेको, भ्रष्टाचार लगायतका अपचलन हुन नदिन पार्टीले जनप्रतिनिधिलाई समय, समयमा सचेत गराउने, भेला बैठकहरुमा सहभागी गराएर जनताको हितमा पर्टीको साख गिर्न नदिई काम गर्न निर्देशन दिनुपर्ने लगायतका सुझाव राखे ।
पार्टीको तर्फबाट छलफलको प्रतिवेदन प्रस्तुत गर्नु हुँदै पार्टी प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँईले जित्नेमा पार्टीको बलले भन्दा मेरो लोकप्रियताले जितेको हुँ भन्ने घमण्ड पलाउने र हार्नेमा पाटीभित्रैका अन्तर्घातीले हराए भन्ने निराशले जनताका बीचमा उत्साह पैदा गर्न गर्न नसकिने सुझाव राखेका थिए । पार्टीमा न्यायिक अनुशासन कायम गरेर दण्ड र पुरस्कारको नीतिले मात्र संगठन सुदृढ र मजबुत हुन सक्ने बताउँदै बिकासका काम गर्दा जनप्रतिनिधिले पार्टीको सम्बन्धित इकाइसँग समन्वय गरेर योजना तर्जुमा र कार्यान्वयन गर्न सकेमा संगठनलाई बल पुग्ने निष्कर्ष प्रस्तुत गरे ।
असक्षम र बृद्ध नेताले बिश्राम लिएर अभिभावक भई युवापस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न केन्द्रीय नेताहरु तयार हुनुपर्ने निष्कर्ष सुनाउदै हुमागाँईले बिचार, दृष्किोण, चिन्तन र बिश्लेषण गरेर योजना बनाउन सक्नेलाई कार्यकर्ताले चिन्न, चुन्न र छान्नसक्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि बसन्तकुमार भट्टराईले केन्द्रीय नेतृत्वका अनेकन गल्तिले गर्दा पार्टी क्षति व्यहोर्नु परिरहेको तर्फ इंगित गर्दै आगामी १४ औं महाधिवेशनबाट स्पष्ट दृष्टिकोण राख्न सक्नेलाई रोजेर, खोजेर, चुनेर नेतृत्वमा पठाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस झापाका पूर्व सभापति एवम् सभासद् सुधिरकुमार शिवाकोटीले म होइन, हामी भन्ने सामुहिक भावना लिएर एकतावद्ध भै संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा कम्युनिष्ट सरकारका लोकतन्त्र बिरोधी गतिविधिका कारण अझै धेरै चुनौतिको सामना गर्नुपर्ने आवस्था आउनसक्ने तर्फ संकेत गरे ।
दोस्रो चरणको राष्ट्रिय जागरण अभियान (हिपतम) मा सक्रिय कांग्रेसले आज पनि जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
झापा क्षेत्र नं–१ ले आफ्नो क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अभियानका केन्द्रीय प्रतिनिधिद्वय रमेशजंग रायमाझी र विन्दिया कार्की, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, क्षेत्रीय सभापति मणि उप्रेती, प्रदेश क्षेत्रीय सभापतिहरु हर्क फियाक र सिता पोखरेल, नगर सभापति इन्द्र बुढाथोकी लगायतले सहजीकरण गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं–४,प्रदेश क अन्तरगत झापाको गौरादह–९ र गौरीगञ्ज–१ र २ मा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फे, क्षेत्रीय सभापति जयनारायण शाह, भक्ति सिटौला, किरण भट्टराई लगायतले सहजीकरण गरेका थिए ।
यसैगरी प्रदेश ख अन्तर्गत शिवसताक्षी–१० मा वार्डस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लोकप्रसाद संग्रौलाको प्रमुख आतिथ्य र लक्ष्मी योङयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोपाल उप्रेती, क्षेत्रीय सभापति जयनारायण शाह, शिव कडेल लगायतले सहजीकरण गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं–५ प्रदेश क को गौरादह र प्रदेश ख को दमक नगरपालिका–३, ४ मा आयोजित कार्यक्रमहरुमा अग्रज प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गरिएको छ । दमक– ३ का दुईस्थानमा आयोजित कार्यक्रममा १८ जना अग्रज कांग्रेस कार्यकर्ता तथा प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको हो । रुद्र मिश्रको अध्यक्षता र आइन्द्र केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालक्षित अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो भने ५ जना प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको थियो ।
यसैगरी दमक–३ मै आयोजित अर्को कार्यक्रममा १३ जना कांग्रेसका अग्रज नेताहरुलाई सम्मान गरिएको हो । तोया चापागाईको प्रमुख आतिथ्य र तेजबहादुर धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यता दमक–४ मा राजेन्द्र भट्टराईको प्रमुख आतिथ्य र राजेन्द्र सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले बोलेका थिए । यसैगरी क्षेत्र नं–५ कै प्रदेश क को गौरादहमा आयोजित कार्यक्रममा पनि प्रजातान्त्रिक योद्धा तथा अग्रज कांग्रेस कार्यकर्तालाई सम्मान गरिएको प्रदेश क्षेत्रीय सभापति रोहितकुमार शाहले जानकारी दिए ।







प्रतिक्रिया