नेपालको चीनसँग सहकार्य, चीनको विकासबाट नेपाली जनता खुसी : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सि जिनपिङको विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेकोमा खुशी लागेको बताउनुभएको छ ।
राजधानीको होटल याक एन्ड यतिमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा शुरु भएको सि जिनपिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारात्मक छलफल कार्यक्रमु उद्घाटन गर्दै उहाँले यसलाई सुखद् शुरुवात भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, नयाँ बहसको थालनी भएको छ। हामी दुई पार्टी कसरी अघि बढ्दैछौ भन्ने विषय पनि हो यो। यो सुखद् शुरुवात हो ।
नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, दुई पार्टीबीचको घनिष्ठ सम्बन्ध स्वाभाविक र सान्दर्भिक छ। हामी हिमालबाट जोडिएको छ। हाम्रो मित्रता खुल्ला छ, तरपनि हाम्रो मित्रता स्वार्थभन्दा माथि छ। समस्यारहित सम्बन्ध छ। एक चीन नीतिमा अडिग छ। यहाँको भूमि र आकाश चीनविरुद्ध प्रयोग हुन दिइने छैन।
चीन सरकार शक्तिशाली भएर पनि थिचोमिचो नगर्ने देश भएकोले नेपाल सदैव यो नीतिको सम्मान गर्ने प्रधानमन्त्रीको भनाई थियो।
कम्युनिष्ट पार्टीले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिष्ट पार्टीले झुट सावित गरिदिएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्छन् तर विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले झुट सावित गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी मार्क्सवादको रक्षामा अब्बल देखिएको उल्लेख गर्दै यस विकासको श्रेय सि जिनपिङलाई नै जाने ओलीको भनाई थियो। चीन विश्वकै ठूलो आर्थिक देशको रूपमा रहेकोले नेपाल चीनसँग सहकार्य गर्न सदैव तयार रहेको र चीनको विकासबाट नेपाली जनता खुसी रहेको उहाँको भनाई थियो।
प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी अनुशासित हुनैपर्ने उल्लेख गर्दै अबका दिनमा कम्युनिस्ट पार्टीको ध्यान युवामा हुनुपर्ने बताउनुभयो । हाम्रो ध्यान युवामा हुनुपर्छ। उर्जाशील युवा पुस्तामा। नवीन विचारमा हामी खुल्ला हुनुपर्ने उहाँको भनाइ थियो ।