पत्रकारितालाई निष्पक्ष बनाउन आग्रह
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले झापाली पत्रकारहरुसग शुभकामना आदानप्रदान गरेको छ ।

बिजयी दशमी, दिपावली , नेपाल सम्बत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले शुभकामना दिदै परिवर्तनमा संचारकर्मीको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । उनीहरुले पत्रकारलाई प्राप्त भएको उपलब्धि संस्थागत गर्न रचनात्मक भुमिका निर्वाह गर्न सुझाब समेत दिएका छन् । पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष बिक्रम लुइँटेलले पत्रकारिता क्षेत्रमा ब्यवहारिक सुधारको आवश्यक रहेको बताएका छन् ।
शुभकामना दिदै उनले पत्रकारिता क्षेत्रको बिकृती अन्त्य गर्न आग्रह गरेका छन् । उनले पत्रकारिता स्थानीय तह र कर्पोरेट हाउसबाट थ्रेट भइरहेको बताए ।नेकपा झापाका कार्यलय कमिटीका सदस्य प्रेम गिरीले शुभकामना दिदै नेपालीहरुको बिचमा सुन्दरता निर्माण गर्न चाडबाडले मद्धत पुर्याउने बताएका छन् । उनले पत्रकारिता क्षेत्रसँग समाजले ठूलो आशा गरिरहेको बताए । नागरिक समाजको अग्र दस्ता र राज्यको चौथो अंग पत्रकारका सामु चुनौती देखा परेको भन्दै ब्यवसायीक बन्न आग्रह गरेका छन् ।
पत्रकारिता क्षेत्रप्रती राज्य पनि गम्भीर हुनुपर्ने उनको भनाई थियो ।नेपाली काङ्ग्रेस झापाका सभापति उद्वब थापाले पत्रकारिता क्षेत्र निष्पक्ष नभएको बताएका छन् । उनले मूल्य र मान्यतालाई बिर्सेर आस्थाका आधारमा पत्रकारिता चलिरहेको आरोप लगाए । नेता थापाले निष्पक्ष पत्रकारिता नभए मुलुकको बिकासमै समस्या हुने बताए ।बिर्तामोडका मेयर ध्रुव शिवाकोटीले पत्रकारलाई तथ्यका आधारमा मात्र सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।
उनले केही महिनाअघि ३० लाख लिएको भन्ने बारे भ्रम छरेको भन्दै असन्तुष्टि प्रकट समेत गरेका छन् । उनले समाज रुपान्तरणमा सहयोग गर्न आग्रह गर्दै शुभकामना दिएका छन् ।कार्यक्रममा नेकपा झापाका कार्यलय कमिटी सदस्य प्रेम गिरी, नेपाली काङ्ग्रेस झापाका सभापती उद्वब थापा, राप्रपाका जिल्ला सचिब केशव ओझा, बिर्तामोडका मेयर ध्रुब शिवाकोटी, पत्रकार महासंघ प्रदेश १ का महासचिव बिबेक गौतम र अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका छन् ।