Banner news

भन्सारमा कर्मचारीको कमाउ धन्दा

भन्सारमा कर्मचारीको कमाउ धन्दा


भद्रपुर । झापाको गौरीगञ्जमा रहेको छोटी भन्सार कार्यालयका एक कर्मचारीले थोरै रकमको रसिद दिएर बढी रकम असुल्दै आएको पाइएको छ ।

भन्सार कार्यालयका कार्यालय सहयोगी नवराज अधिकारीले भन्सार रसिदसँग दिइने प्रज्ञापन पत्रको पैसा लाग्छ भन्दै बढी रकम असुल्दै आएका छन् । केहि दिनअघि अधिकारीले भारतबाट सामान खरिद गरि साइकलमा खुद्रा व्यापार गर्न आएका जोरीफ सेख सँग रु ५ सय २५ को भन्सार रसिद काटी रु ८ सय असुलेको, अब्दुल सेखसँग रु २ सय ६३ को रसिद काटी रु ४०० लिएको र अजिमसँग रु १ सय ३२ को रसिद काटेर रु २ सय असुलेको पीडितहरुले बताएका छन् ।

अधिकारी प्राय : आफ्नो कार्यालयमा बस्दैनन् । उनि गौरीगञ्ज–६ स्थित कृषि क्वारेन्टाइनको अफिसमा बसेर कमाउ धन्दा चलाइरहेका हुन्छन् । यो बिषयमा भेट्न जाँदा पनि उनि क्वारेन्टाइन कै अध्यारो कोठामा भेटिए । रसिदमा उल्लेख गरे भन्दा बढी रकम किन लिएको भनि गुनासो राख्दा उनले प्रज्ञापन पत्रलाइ इङ्गित गर्दै भने,‘मैले फारमको पैसा लिएको हुँ ।’ फारमको पैसा लिदा रसिद दिनु पर्दैन भन्ने प्रश्नमा उनले फारमको रसिद पनि हुदैन र यसको हिसाब किताब पनि हुदैन भन्ने गैरजिम्मेवार जवाफ दिएका छन् ।

यता छोटी भन्सार गौरीगञ्जका नासु सुकाराम मण्डलले भने भन्सार रसिद भन्दा बाहेक प्रज्ञापन पत्रको कुनै शुल्क नलाग्ने कुरा बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares