कात्तिक १३ गते सार्वजनिक बिदा
बिर्तामोड । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । ‘नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकोमा निर्णय भएको हो,’ सचिव राईले सेतोपाटीसँग भने । तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ । पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो ।
संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा. अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।