क्षतिपूर्ति माग्दै डल्फिनका सबै बस प्रहरी कार्यलय बुझाईयो
बिर्तामोड । डल्फिन यातायातका चालक जंग बहादुर राजवंशीको रहस्यमय मृत्यू भएपछि अन्य चालकले कम्पनीका १३ वटा बस इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा थन्क्याएका छन् । उनीहरुले सवारी चालकको शव अस्पतालबाट बाहिर निकाल्न आवश्यक खर्च जुटाइदिन माग गर्दै दवाव स्वरुप बस थन्क्याएका हुन् ।

गत असोज २६ गते दुर्घटनामा परेका राजवंशीको उपचारको क्रममा मृत्यू भएको छ । बिर्तामोडको विएण्डसी अस्पतालमा उपचाररत राजवंशीको विल ५ लाख २५ हजार पुगेको छ । सो रकम बुझाउन नसक्दा परिवारले शव समेत निकाल पाएको छैन । डल्फिनका सञ्चालकहरुले मृतक राजवंशीको उपचारमा ढिलासुस्ती र राहत खर्च दिन पीडित परिवारसँग सम्पर्कमा नआएको भन्दै राजवंशी समाज विकास समितिको अगुवाईमा पीडितका परिवार, चालकहरुसमेतले बिहीवारबाट विर्तामोडमा डल्फिन यातायातका बसहरु राखेका छन् ।
उर्लावारीमा दुर्घटनामा परेका अनारमनी –७ का राजवंशीलाई डल्फिन यातायातका सञ्चालक कमल साहले विर्तामोडस्थित विएण्डसी टिचिङ अस्पताल पु¥याई सम्पर्क विहीन भएको उनकी पत्नी सविना राजवंशीले बताइन् । मृतक राजवंशीले चलाउने मे १ ख २६५१ नं. को डल्फिन गाडी र पिक भ्यान एक आपसमा जुधेको बताइएको छ ।
पत्नी सविनाले हालसम्म ६१ हजार अस्पताललाई बुझाएको बताएकी छन् । उनले बाँकी रकम बुझाउन नसक्दा श्रीमानको शव अस्पतालमै बन्धक बनाइएको छ । राजवंशीको उपचारका क्रममा गत आइतवार राति मृत्यु भएको थियो । डल्फिनका सञ्चालक जिवन रेग्मी, कमल साहलगायत ४ जना छन् । डल्फिन यातायातका सञ्चालकमध्ये जिवन रेग्मी सम्पकर्मा आएपनि छलफलमा बस्न आनाकानी गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले बताए ।
गाडी मालिकसँग पटक–पटक सम्पर्क गर्दा कोही दिल्ली, त कोही काडमाडौंमा रहेको बताउँदै आएपनि उनीहरुलाई बोलाउने प्रयास भइरहेको डिएसपी थापाको भनाई छ ।
आफ्नो चालकको दुर्घकटनामा मृत्यू भएपछि त्यसको बाँकी प्रक्रिया कम्पनिले पुरा गर्नुपर्ने राजवंशी समाज समितिका अध्यक्ष पुकार राजवंशीले बताएका छन् । चालकको ज्युधन लगायत सम्पुर्ण जिम्मेवारी श्रम ऐन अनुसार पनि गाडी सञ्चालकले लिनु पर्ने भएको हुँदा पीडितले राहत नपाउन्जेल गाडी नियन्त्रण रहिरहने बताइएको छ ।
सञ्चालकहरुले चालकको कालगतिले मृत्यू भएको दावी गर्दै आएका छन् । उनीहरुले दुर्घटना भएमा भलाई कोषले क्षतिपूर्ति दिनुपर्ने बुझिएको छ । भलाई कोषले भने दुर्घटना कतै दर्ता नभएकाले केहि गर्न नसकिने बताइएको छ । यातायात व्यवसायी र संघ विचको हानाथापले पीडित चालकको परिवार थप समस्यामा परेको छ ।