भद्रपुर विमानस्थल १० दिन बन्द
झापा – झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् ।
वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ । भद्रपुर नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । यस विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।