विद्या भट्टराई पाँचहजार भोटले अगाडि
काठमाडौं – कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ ।
यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ५हजार८सय३७ रहेको छ । अहिलेसम्म वडा नं ३३, २१, २० र १७ को गणना सम्पन्न भएको छ भने अब वडा नं १६ को गणना हुन बाँकी छ ।
उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्। कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।
अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गर्नुभएको थियो । अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।