बिर्तामोड खानेपानीमा अवैधानिक ठहरिएको नेतृत्व नै निर्वाचनमा आयो : ज्ञानु प्रसाई
बिर्तामोड । झापाका राजनीतिक दलहरु बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा केन्द्रीत भएका छन् ।

मंसिर २५ गते बुधबार हुन गइरहेको निर्वाचनमा नेकपा नेता सामाजिक व्यक्तित्व ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल र लामो समयदेखि कार्यसमितिमा रहेका जलकुमार गुरुङको नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचनमा होमिएको छ । प्रसाई नेकपाको तर्फबाट र गुरुङ नेपाली कांग्रेसको तर्फबाट खानेपानीको निर्वाचनका लागि भोट माग्न थालेका छन् ।
बिर्तामोडका कुशल सामाजिक व्यक्तित्व प्रसाई हाइप्रोफाइल भएका झापाली नेता हुन् भने गुरुङ खेलकुद क्षेत्रमा काम गर्दै आएका प्रतिनिधि हुन् । प्रसाईले यो निर्वाचनमा नयाँ नेतृत्व स्थापित गर्न उपभोक्ता नै लागि परेको बताउँछन् । उनले २५ वर्षसम्म जलकुमार गुरुङ नेतृत्वमा रहनुले पनि खानेपानीको उल्लेख्य विकास नभएको बताए । बिर्तामोड खानेपानीले विकासमा चासो दिएन, प्रसाईले भने – एउटै मान्छे किन बस्नुपर्ने ? त्यसमा हामीलाई आशंका छ । अवैधानिक ठहरिएको गुरुङको कार्यसमिति फेरि निर्वाचनमा आए बिर्तामोड खानेपानी खतरामा पर्ने प्रसाईको दावी छ ।
यता, गुरुङले आफ्नो नेतृत्वमा उल्लेख्य काम भएको बताउँदै निर्वाचनमा गएको जानकारी दिएका छन् । बिर्तामोड नगरपालिकाको मेयरमा पराजित भएका गुरुङ बिर्तामोडको सामाजिक काममा सक्रिय छन् ।
दुई ठुला दलले महत्वका साथ लिएको निर्वाचनमा नेकपा कांग्रेसको पकड भत्काउने दाउमा छ भने कांग्रेस निरन्तरता दिने अडानमा अघि बढेको छ ।