जेष्ठ ६, २०८२ सोमबार

दुई वर्षदेखि बिर्तामोडमा लागुऔषधको व्यापार गर्ने पक्राउ, निगरानीमा व्यापारी र प्रयोगकर्ता

बिर्तामोड । दुई वर्षदेखि लागुऔषधको व्यापार गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट पक्राउ गर्न सफल भएको छ । झापामा लागुऔषधको कारोवार र प्रयोगकर्ता बढ्दै गरेको तथ्याङकका आधारमा व्यापारी खोजी गरिरहेको प्रहरीले ठुलो परिमाण सहित बिर्तामोड –२ सगरमाथा टोलका रुफस राईलाई पक्राउ गरेको हो ।

उनको साथबाट तिन किसिमको ६ सय एम्पुल लागुऔषध बरामत गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । फेनरगन, लुपिजेसिक र डाइजेपामको २÷२ सय एम्पुल बरामत गरेको थापाको भनाई छ । राईले सो परिमाणको लागुऔषध कार्टुनमा टेपले बेरेर राखेका थिए । प्रहरीले उनलाई बिर्तामोडस्थि पाथीभरा सिने प्लाजा क्षेत्रमा स्कुटीमा यात्रा गर्दै गर्दा पक्राउ गरेको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौमा पक्राउ परेका अर्का धनबहादुर मगरले राईको नाम लिएपछि उनको खोजी शुरु गरिएको थियो । राईको साथबाट प्रहरीले प्रदेश १, १०१२ प ३६९३ नम्बरको स्कुटी समेत नियन्त्रणमा लिएको छ । मंसिर २९ पक्राउ परेका राईलाई १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बिर्तामोड क्षेत्रमा लागुऔषध कारोवार गर्नेहरुको निगरानी बढाइरहेको बेला रुफस राई प्रहरीको सूचनामा परेका थिए । प्रहरीले उनलाई पाथीभरा सिने प्लाजा जाने सडक खण्डमा भेटेको थियो । प्रहरी देख्नासाथ भाग्न खोजेका राईलाई प्रहरीले तत्काल पक्राउ गरी खानतलासी गर्दा लागुऔषध भेटिएको प्रहरीको भनाई छ । २४ वर्षीय राई प्रयोगकर्ता भएपछि व्यापार शुरु गरेको प्रहरीको भनाई छ । भारतको किसनगञ्ज जिल्लाको ठाकुरगञ्जस्थित ४२ वर्षीय चाँद मियाबाट लागुऔषध खरिद गरी झापाको बिर्तामोड सहित विभिन्न ठाउँमा व्यापार र निर्यात गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

डिएसपी थापाका अनुसार राईलाई लागुऔषध मुद्दामा कारवाही अघि बढाइने छ ।

प्रकाशित मिति : पुष ४, २०७६ शुक्रबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]