बिर्तामोड सडक : सम्झौता सकिनै लाग्दा ४० प्रतिशत मात्रै काम
झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोकदेखि हर्चना कल्भर्टसम्मको चार लेनको चार दशमलव शून्य सात किलोमिटर सडकको काम ४० प्रतिशत मात्र पूरा भएको छ । सम्झौताअनुसार आगामी २४ पुसमा सडक निर्माण सम्पन्न हुनुपर्ने भए पनि १८ महिनामा ४० प्रतिशत मात्र काम भएको हो ।
बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माणको काम आशिष–प्रेरा जेभीले २४ असार ०७५ मा थालेको हो । निर्माण कम्पनीसँग २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सडकको लागत २७ करोड नौ लाख ७० हजार रहेको छ । झापामा बन्न लागेको पहिलो चार लेनको सडकको काम १८ महिनामा ४० प्रतिशत मात्र सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
बिर्तामोडबाट जिल्ला सदरमुकाम भद्रपुर जाने यो सडकको कुल लम्बाई १६ किलोमिटर छ । सुरुमा दुई दशमलव आठ किलोमिटर मात्र चार लेन बनाउने सम्झौता भए पनि पछि चार किलोमिटर नै चार लेनमा स्तरोन्नति गर्ने निर्णय भएकाले समय लागेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी चन्द्रेश्वर साहले जानकारी दिए । समयबाटै काम हुन नसकेपछि अहिले पुनः म्याद थप्ने तयारी भइरहेको उनले बताए ।
पछिल्लो समय सडक स्तरोन्नतिको कामले तीव्रता पाएका कारण म्याद थप्न सकिने साहले बताए । ‘काम सन्तोषजनक छ । निर्माण कम्पनीले निवेदन लिएर म्याद थप्न आए थप्न सकिन्छ,’ उनले भने, ‘यही गतिमा काम भए तीनदेखि चार महिनाभित्र काम सकिन्छ । इभिडेन्ससहित आए म्याद थपिन्छ ।’ पछिल्लो समय निर्माण कम्पनीले रातको समयमा पनि काम गर्न थालेको छ ।
समयमा सडक निर्माण नसकिँदा स्थानीयले भने दैनिक सास्ती बेहोर्नुपरेको छ । बिर्तामोडकै अति व्यस्त सडक स्तरोन्नतिको काम समयमा नसकिँदा आवत–जावतदेखि व्यवसाय गर्नसम्म समस्या भएको स्थानीय बताउँछन् । ‘सडकमा हिँड्नै सकिँदैन । सडक खोतलिएको छ । त्यहीँमाथि सडकमा उस्तै चाप छ,’ स्थानीय मोहन सिवाकोटीले भने, ‘सडकछेउछाउमा रहेका पसलसम्म जान पनि बाटो भत्काएका कारण मुस्किल छ ।’ Nayapatrika