बैशाख १७, २०८२ बुधबार

युवतीलाई भारतमा बलि चढाउने योजनाकार पक्राउ

काठमाडौं । नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिने योजना प्रहरीले असफल पारेको दाबी गरेको छ ।  प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार ती युवतीलाई भारतमा लगेर बलि दिने तयारी गरिएको थियो ।

युवतीले शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले बलि दिने योजना असफल पारिएको प्रहरी दाबी छ ।  प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने तयारी गरेको छ ।  काठमाडौं प्रहरीले घटनामा संलग्न आरोपमा सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेको परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे । 

उनले भने,‘‘अनुसन्धानकै चरणमा छौं । बिहीबार पत्रकार सम्मेलन गरेर सबै सार्वजनिक गर्छौं ।”

यस्तो छ घटना 

बाह्रखरीलाई प्राप्त जानकारीअनुसार केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी सुरु भएको थियो । काठमाडौंमा एक महिलाले त्यसको संयोजन गरेकी थिइन् । राजधानीको एक फेसन डिजाइन हाउसले ती महिलाले खोजेअनुसारकी युवती उपलब्ध गराउने बताएको थियो । युवतीको उचाई साढे ५ फिटदेखि ६ फिटसम्म भनिएको थियो । 

प्रहरी स्रोतका अनुसार डिजाइन हाउसले युवतीको खोजी सुरु गर्‍यो । खोजी गर्ने क्रममा एक युवती सम्पर्कमा आइन् । काठमाडौंमा उनको शरीरको नाप लिइयो ।  सुरुमा काठमाडौंमै कार्यक्रमका लागि भन्दै युवतीलाई तयार गरिए पनि केही दिनपछि विराटनगरमा कार्यक्रम गर्ने भनियो । 

त्यसपछि नै उनले शंका लागेर यसबारेमा प्रहरीलाई खबर गरिन् । त्यसपछि सबै घटनालाई प्रहरीले सुक्ष्म रुपमा हेरेर अनुसन्धान थालेको थियो । 

कतिपय स्थानमा युवतीसँगै सादा पोशाकका प्रहरी आफन्त बनेर पुगेका थिए । प्रहरी स्रोतका अनुसार ती युवती मोडल पनि हुन् ।

उनलाई आफ्नो प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने बताइएको थियो । आपसी सहमतिमा सबै कुरा मिलिसकेपछि ती युवती विराटनगर जान तयार भइन् । जहाँ सादा पोशाकमा रहेका प्रहरी पनि सँगै थिए । 

विराटनगर पुगेपछि उनलाई एक धार्मिक आश्रममा लगिएको उच्च प्रहरी स्रोत बताउँछ । त्यहाँ पुगेपछि उनलाई विभिन्न धार्मिक बस्त्र पहिर्‍याइयो ।

उनको खुट्टामा कालो धागो बाँधियो । उनलाई फेरि भारत जानुपर्ने बताइएपछि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो । विराटनगर पुर्‍याइएकी युवतीलाई राखिएको कोठामा अर्की एकजना महिला पनि रहेको प्रहरी स्रोतले जानकारी दियो ।

जो ती युवतीसँगै काठमाडौंबाट गएकी थिइन् । एक अधिकारीका अनुसार ती युवतीलाई विराटनगरबाट भारतमा रहेका एकजना धार्मिक बाबाको आश्रममा पुर्‍याउने योजना थियो । 

भारत पुर्‍याएर बलि दिने योजना रहेको प्रहरी स्रोत बताउँछ । प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाडौं र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीमान्–श्रीमती नै छन् । उनीहरुले युवतीलाई भारतसम्म पुर्‍याउनकै लागि ‘र्‍याम्प सो’देखि सासंस्कृती कार्यक्रमको नक्कली योजना बुनेका थिए । योजनामा संलग्न सबैलाई पारिश्रमिक दिने गरेको खुलेको छ । 

प्रकाशित मिति : पुष ९, २०७६ बुधबार  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]