बैशाख १७, २०८२ बुधबार

लण्डनबाट फर्किएर बिर्तामोडमा चिया व्यापार

बिर्तामोड । पुस महिना शुरुआत हुनासाथ झापाको बिर्तामोडमा नयाँ शैलीबाट चियाको व्यापार शुरु भएको छ । बिहानैदेखि बेलुकासम्म तात्तातो चिया भन्दै माइकिङ गरेर सिटी सफारीमा चिया विक्री गरिरहेको पाइन्छ । हट सिप नामक व्यानरमा सिटी सफारीले बिर्तामोड क्षेत्रभरी चियाको सेवा उपलब्ध गराइरहेको छ ।

बिर्तामोड–४ का सन्तोष घिमिरे र बिर्तामोड–३ का नविन बाँस्कोटाले शुरु गरेको हट सिपले यतिबेला सार्वजिनक स्थलमा आवतजावत गर्ने सर्वसाधरण र मार्केटहरुमा चियाका पारखीलाई टेस्टी चिया उपलब्ध गराउदै आएका छन् । पुस १ गतेबाट शुरु गरेको चिया व्यापारको माग बढिरहेको सञ्चालकहरु बताउँछन् । सिटीमा प्रचारसँगै चियाको व्यापार भइरहेको छ, सञ्चालक घिमिरेले भने – हामी पसलहरुमा पनि चिया सेवा उपलब्ध गराइरहेका छौं ।

दुवै सञ्चालक बिर्तामोडका ठुला मार्केटमा चियाको थर्मश नै उपलब्ध गराउँदै आएका छन् । विहानैदेखि चियाको थर्मश बजारमा पु¥याइरहेका छौं, घिमिरेले भने । उनीहरु कारमा बजार आउछन् । माग गरेको ठाउँमा चियाको थर्मश छोडेर फर्कन्छन् । दैनिक ३० देखि ३५ थर्मश चियाको माग भइरहेको अर्का सञ्चालक बाँस्कोटाले जानकारी दिए । एक थर्मश चिया १ सय रुपैयाँमा छोड्ने गरेका छौं । बेलुका थर्मश संकलन गरेर फेरि विहानदेखि चिया बजारमा पु¥याउने काम गर्दैछौं । चिया र १० वटा कप छोड्ने उनीहरु यो व्यापारलाई पाइलट प्रोजेक्टका रुपमा अगाडि बढाइरहेका छन् ।

सन्तोष घिमिरे लण्डनबाट फर्किएको २ वर्ष पुरा भयो । उनी लण्डनको पीआर त्यागेर परिवारसहित आफ्नै देशमा नयाँ काम गर्न फर्किएको बताउँछन् । अक्स्फोर्डका लिडरसीप विधार्थी समेत रहेका घिमिरेले नयाँ कामले समाजलाई चलायमान बनाउने बताउँछन् । युवालाई उद्यममा प्रोत्साहन समेत हुने गरी बजारमा चिया बोकेर हिढ्न थालेको सुनाए । सगुनका युरोप सहसंयोजक रहेका घिमिरेले ‘जाग्छ पौरखी नेपाली चियाँसँगै’ भन्ने नारा तय गरेका छन् । उद्यमी बन्नलाई कट्टु खोलेर काम गर्नुपर्छ, तपाई के भन्नुहुन्छ ? भन्ने लाइन उनैको भिजिटिङ कार्डको पुच्छरमा लेखिएको छ ।

कुनै पनि कामलाई नयाँ शैलीमा गर्न सकिने सञ्चालक बाँस्कोटाको जिकिर छ । मल्टिनेशनल कम्पनी कोकाकोला समेत क्यारेटमा पसल–पसलमा पु¥याइन्छ । चिया किन पु¥याउन नमिल्ने भन्दै यो अभ्यास गरेका हौं – बाँस्कोटा थप्छन् । स्थानीय दुध र चियालाई नयाँ शैलीमै तयार गरिरहेका उनीहरुले बजार विस्तार गरिरहेको जानकारी दिए । बिर्तामोडसँगै अन्य बजारमा पनि चिया सेवा उपलब्ध गराउने तयारी गरेको बाँस्कोटाको भनाई छ ।

बाँस्कोटा बिर्तामोडस्थित कनकाई क्याम्पसमा बिजनेश स्टडीमा मास्टर्स गरिरहेका छन् ।

शुरुआतदेखि नै हट सिपको चिया खाइरहेका बिर्तामोडस्थित कशिस किचनका सञ्चालक महेश पूर्वेले चिया स्वादिलो रहेको जानकारी दिए । उनका अनुसार चिया सस्तो, मिठो छ । पसल मै चिया आएपछि समय समेत बचत भइरहेको पूर्वेको भनाई छ ।

प्रकाशित मिति : पुष १६, २०७६ बुधबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]