कोरियामा टोपी दिवससँगै भ्रमण वर्षको प्रचार
दक्षिण कोरियामा ‘टोपी दिवस’ मनाइएको छ । २०७० सालदेखि हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाउन थालिएको यो दिवस देशविदेशमा रहेका नेपालीहरुले मनाउँदै आएका छन् ।

यसैक्रममा दक्षिण कोरियामा पनि यो बुधबार सो दिवस मनाइएको हो । “राष्ट्रका नाममा दुईघण्टा हातमा नेपाली झण्डा र शीरमा टोपी लगाएर पदयात्रा” भन्ने मुल नाराका साथ सोल स्टेसनदेखि सोल टावर सम्म पदयाता गरिएको हो ।
यो दिवसका अवसरमा पर्यटन नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार पनि गरियो । नेपाली झण्डा सहित नेपालको विभिन्न क्षेत्रको दृश्य अंकित प्लेकार्डसहित गरिएको पदयात्रामा भ्रमण वर्ष २०२० को नारा “नेपाल लाईफटाईम एक्सपिरिएन्सेस” लाई प्रवर्द्धन गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपी सिटौला सहित गैरआवासीय नेपाली संघ कोरियाका पदाधिकारी, राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान, सोसाइटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) लगायतको सहभागिता रहेको थियो ।