काठमाडौं । व्यापार घाटा नेपालको अर्थतन्त्रको प्रमुख समस्या हो । बढ्दो आयात र घढ्दो निर्यात मुलकको अन्तर्राष्ट्रिय व्यापारको नियमित प्रवृत्ति जस्तै देखिन्छ । नेपालको व्यापार घाटा उच्च रहे पनि पछिल्ला दिनमा भने प्रतिशतका आधारमा कमी आउन थालेको छ । यसले निरन्तरता पाए अर्थतन्त्रका लागि सकारात्मक सन्देश जाने जानकार बताउँछन् ।

भन्सार विभागको चालू वर्षको पाँच महिना (साउन–मंसिर) सम्मको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याकंअनुसार व्यापार घाटा क्रमिक सुधारोन्मुख देखिन्छ । गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा कमी आएको तथ्यांकमा देखिन्छ । मंसिरसम्मको तथ्याकंअनुसार गतवर्षको तुलनामा व्यापार घाटा ६.३० प्रतिशतले घटेको छ ।
अर्थात् ०७५–७६ को पाँच महिनाको तथ्याङ्क हेर्दा ५ खर्ब ६९ अर्ब रुपैयाँ व्यापार घाटा भएकोमा समीक्षा अवधिमा करिब ३५ अर्ब रुपैयाँले घटेर ५ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ । व्यापार घाटामा कमी आएको उल्लेख्य तथ्यांक नभए पनि सुधारोन्मुख भने मान्न सकिन्छ ।
घट्दो आयात र बढ्दो निर्यातले व्यापार घाटाको यो प्रवृत्तिमा केही परिवर्तन देखिएको छ । त्यसो त चालू वर्षको पहिलो महिनादेखि अघिल्लो वर्षभन्दा निर्यात बढेको र आयात घटिरहेको तथ्याकंले देखाउँछ । व्यापार घाटा पनि साउनदेखि नै घटेको तथ्याकंमा उल्लेख छ ।
विभागका अनुसार अघिल्लो मंसिरसम्म ६ खर्ब ६ अर्ब रुपैयाँको आयात भएकोमा अहिले ४.२४ प्रतिशतले घटेर ५ खर्ब ८१ अर्ब पुगेको छ । अर्थात् तुलनात्मक रूपमा आयात २५ अर्ब ७३ करोडले घटेको देखिन्छ ।
निर्यातको वृद्धिदर पनि उत्साहजनक देखिन्छ । अघिल्लो वर्ष ३७ अर्ब ५० करोड रुपैयाँकोे निर्यात भएकोमा समीक्षा अवधिमा २६.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । निर्यातको वृद्धिदरले समग्र व्यापारमा यसको हिस्सा बढेर ७.६ प्रतिशत पुगेको छ ।
अघिल्लो मंसिरमा कुल व्यापारमा ९४.२ प्रतिशत आयातको हिस्सा रहेकोमा अहिले घटेर ९२.२ प्रतिशतमा आइपुगेको छ ।







प्रतिक्रिया