५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन
झापा । यो वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यो गत वर्षको तुलनामा १ प्रतिशत थोरै हो । गत आर्थिक वर्ष २०७५/७६ मा अहिलसम्मकै सर्वाधिक ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो ।

ढिला मनसुनका कारण समयमा रोपाइँ हुन नसकेको, किराको प्रकोप र बीऊबिजनका समस्याका कारण धानको उत्पादन गत वर्षको भन्दा ५९ हजार मेट्रिक टन घटेको मन्त्रालयले जनाएको छ । यो वर्ष फौजी किराको आक्रमण तथा गरिमा जातको धानबालीमा बाला नलागेपछि हजारौं किसान मर्कामा परेका थिए ।
उत्पादनशील युवाको विदेश पलायनबाट कृषि श्रमिक उपलब्धतामा आइपरेको असहजता, धान खेती हुने जग्गामा घर बनाउने क्रमले धान खेतको क्षेत्रफल २ दशमलव २० प्रतिशतले घटेको छ । गत वर्ष १४ लाख ९१ हजार हेक्टरमा धान खेती भएकोमा यो वर्ष १४ लाख ५८ हजार हेक्टरमा मात्र धान खेती भएको छ ।
यो वर्ष सबै भन्दा धेरै प्रदेश २ मा १४ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै, सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३४ हजार मेट्रिक टन धान फलेको छ ।