पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरे। मंगलबार अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री शनिबार राति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । मंगलबार विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया गएका हुन्। राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोग सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ। कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ। कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८ औँ पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकरलगायतका विशिष्ट पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राजदूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन्। त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो। अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्यांक रहेको छ। यो संख्या दोब्बर बनाउने लक्ष्य रहेको छ ।
पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताए। नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझै दुवैतर्फबाट उडान हुन सकेको छैन।