बैशाख ९, २०८२ मंगलबार

मन्त्री नेम्बाङद्धारा राँके–रवि–भेडेटार सडक अनुगमन, ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले राँके रवि भेडेटार सडक खण्डको अनुगनम गरेका छन् । उनले मेची राजमार्गको राँकेदेखि भेडेटारसम्म १ सय १ किलोमिटर स्थलगत अनुगमन गरेका हुन् ।

प्रदेश नं. १ कै एक महत्वपूर्ण मार्गको रुपमा रहेको यस सडक खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएको बर्ष दिन वित्दा पनि निर्माण कार्यले गति नलिएपछि नेम्बाङ अनुगमनमा पुगेका हुन् । गत बर्ष पुष २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडक खण्ड कालोपत्रेका लागि शिलान्यास गरेका थिए । ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मन्त्री नेम्बाङले स्थानीय प्रतिनीधि, सरोरकारवाला ठेकेदारसंग अन्तरक्रिया गर्दै समयमै काम सकाउने वातावरण निर्माण गर्न पाँचथर, इलाम र धनकुटाका प्रमूख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । आयोजना प्रमूख र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण स्थलमै छलफल गरेका छन् ।

अनुगमनमा धनकुटाका संघीय सांसद राजेन्द्र राई, मोरङका संघीय सांसद घनश्याम खतिवडा, भौतिक पूर्वाधार सचिव देबेद्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, स्थानीय तहका पदाधिकारी, आयोजना प्रमुख लगायत सहभागी रहेका थिए ।

भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको हो । ८७ प्रतिशत भारतीय सरकारको ऋण सहयोग रहने यस परियोजनामा १३ प्रतिशत नेपाल आफैले लगानी गर्दैछ । १ सय १ किलोमिटर लामो यो सडकको निर्माण जिम्मा भारतीय कम्पनी एप्को इन्फ्राटे प्रा.लि.ले लिएको छ । महाभारतको डाँडैडाँडा निर्माण हुने यति लामो सडकमा केहि कल्भर्ट बाहेक पुल बनाउनु पर्ने अवस्था छैन ।

अनुगमनका क्रममा मन्त्री नेम्बाङले यो सडक खण्डले भेट्ने बजारहरु दशमी, सप्तमी, रबी, घुर्पिसे पञ्चमी, ६ नं. बुधबारे, चौबिसे र भेडेटारवासीहरुसंग समेत छलफल गरेका छन् ।

निर्माणमा कुनै ठूलो बाधा नभएकाले तोकिएकै समयभित्र निर्माण गरीसक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । केहि विद्युतका पोल र रुख कटान गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धीत पक्षहरु समन्वय गरेर काम द्रुत गतिमा अगाडी बढाउन समेत निर्देशन दिए । दुई लेनमा विस्तार हुने यो सडकको २०४६ सालमा नै ट्रयाक खुलेपनि लामो सयमसम्म स्तरउन्नती हुन सकेको थिएन ।

प्रकाशित मिति : पुष २७, २०७६ आईतबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]