वीरता जेसीजमा तोडियो सर्वसम्मतको संस्कार, अध्यक्षमा भारी मतले पोखरेल निर्वाचित
बिर्तामोड । वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा मिजास पोखरेल निर्वाचित भएका छन् । वीरता जेसीजको ३९ औं साधारण सभाको बन्दसत्रमा भएको निर्वाचनमा पोखरेल ३९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

वीरता जेसीजको वर्ष २०२० का लागि अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको थियो । अध्यक्ष पदमा मिजास पोखरेल र जीवनकुमार खड्काबीच प्रतिस्पर्धा भएको थियो ।
अध्यक्षमा पोखरेलले ३९ मत प्राप्त गरी बिजयी भएका थिए भने उपबिजेता खड्काले १९ मत प्राप्त गरेका थिए । निर्वाचनमा ६२ जना मतदातामध्ये ५९ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
वीरता जेसीजको वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा घनश्याम चौधरी, प्रवेश बस्नेत, संयुक्त सचिवमा युवराज कुँवर, उपाध्यक्षहरुमा अनन्तलाल महतो, टीकाराम खतिवडा, कमल श्रेष्ठ, प्रभात मास्के, जनसम्पर्क अधिकारी पुकार बराल, तालिम आयुक्त लोकचन्द्र श्रेष्ठ (एलसी), प्रकरण निर्देशकमा अमरजित साह निर्विरोध निर्वाचित भएका थिए ।
कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष विशाल थापाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए भने निर्वाचित अध्यक्ष पोखरेलले प्रतिबद्धतासहितको मन्तव्य व्यक्त गरेका थिए । पोखरेलले वर्ष २०२० मा वीरता जेसीजलाई नमूना जेसीज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै उपबिजेता खड्काले निर्वाचित अध्यक्ष पोखेलसहितको टीमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।