मुख्य समाचार

टिपरको ठक्करबाट महिलाको मृत्यु

टिपरको ठक्करबाट महिलाको मृत्यु


काठमाडौँ । शुक्रबार बिहान दूध बेच्न भन्दै घरबाट निस्केकी गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । 

ठक्करबाट भुइँमा लडेकी मनमायालाई ग१ख ८०२७ नम्बरको टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् ।

मनमायाको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले २० वटा टिपर र ६ वटा एक्साभेटरमाथि तोडफोड गरेका छन् । घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले बताए । 

छेपेटार नजिकै गोरखकाली क्रसर छ । क्रसर परिसरबाट हिँडकी मनमायालाई टिपरले ठक्कर दिएको डीएसपी खतिवडाको भनाइ छ । टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने स्थानीयवासीको अडान छ । मनमायाको शव बीच सडकमै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शेयर गर्नुहोस :

0
Shares