जनप्रतिनिधि विभेद् विरुद्ध सशक्त बन्नुपर्छ : राज्यमन्त्री गजमेर
बिर्तामोड । सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले दलित जनप्रतिनिधिलाई विभेद विरुद्ध सशक्त आवाज उठाउन आग्रह गरेकी छन् । शुक्रवार बिर्तामोडमा उनलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सामाजिक रुपमा रहेको कुनै पनि विभेद् विरुद्ध अग्रभाग उभिएर प्रतिकार गर्न जनप्रतिनिधिलाई निर्देशन समेत दिएकी हुन् ।

दलित महिला सञ्जाल झापाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले दलित जनप्रतिनिधि पनि अन्य जनप्रतिनिधि सरह निर्वाचित भएको आएकोले दवावमा नपर्न आग्रह गरिन् । ‘तपाईहरु एउटा आन्दोलनको उपलब्धी हो, कसैको थिचोमिचोमा बस्नुपर्दैन’ उनले भनिन् । झापाका १५ वटै स्थानीय तहबाट उपस्थित दलित महिला जनप्रतिनिधिलाई गजमेरले कार्यविभाजनमा आफ्नो बलियो उपस्थिति जनाउँदै दलित समुदायको उत्थानमा विशेष ध्यान दिन सूझाव दिइन् । उनले आफु इतिहास रच्न नभई समुदायको उत्थानका लागि मन्त्री भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले दलित समुदायबाट नेतृत्व गर्ने जनप्रनिधिले समुदायको उत्थानका लागि कार्यक्रम निर्माण गरी बजेटको व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेसम्म दलित जनप्रतिनिधिलाई ताली बजाउन मात्र प्रयोग गरिएको भन्दै आगामी दिनमा आफ्नो भूमिका सशक्त रुपमा देखाउन आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का नेता प्रेम गिरीले आफ्नो कार्यकाललाई उपलब्धीमुलक बनाउन शुभकामना दिँदै मन्त्री गजमेरलाई जनताको निम्ति रचनात्मक काम गर्न आग्रह गरे । उनले दलित जनप्रतिनिधिलाई जनताको मनमा बस्ने गरी काम गरेर आउन आग्रह गर्दै सामाजमा रहेको विभिन्न किसिमको विभेद् अन्त्य गर्नका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
यस्तै, ओरिफ नेपालका अध्यक्ष टिकाराम मंग्रातीले केहि व्यक्ति जनप्रतिनिधि बने भन्दैमा समाजमा विभेद् अन्त्य भयो भन्ने नठान्न सूझाव दिएका छन् । उनले संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहमा दलितको प्रतिनिधित्व रहेको भन्दै सुदायमा अझै धेरै समस्या रहेको बताए । विभेद् अन्त्य गर्न समाजमा अझै अभियानको आवश्यकता रहेको बताउँदै उनले जनप्रतिनिधि रमिते र साक्षी मात्र बन्न नहुने उनको तर्क छ ।
अर्का दलित अधिकारकर्मी छविलाल विश्वकर्माले दलित शब्द हटाउनु भन्नेहरु संविधान विरोधी भएको बताएका छन् । उनले विभेद् अन्त्य गर्न दलित शब्दले कुनै समस्या नभएको बताए । उनले भने, दलित शब्द हटाउनु पर्छ भन्नेहरु नै विभेद्कारी छन् ।
सम्मान कार्यक्रममा राज्यमन्त्री गजमेरलाई दलित महिला सञ्जाल झापा, ओरिफ नेपाल, मुक्ति समाज हल्दिवारीले सम्मान गरेको आयोजक समितिको अध्यक्ष हर्कमाया विश्वकर्माले जानकारी दिइन् ।