झापा नागरिकता प्रकरण : ९ लाख धरौटी बुझाएर छुटे दुईजना
वडाध्यक्ष राजवंशी अझै फरार
भद्रपुर । झापामा १६ जना गैर–नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ परेकामध्ये दुईजना धरौटीमा रिहा भएका छन् । झापामा नागरिकता प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये दुईजनालाई उच्च अदालत इलामले धरौटीमा रिहा गरी तारेखमा छाड्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाले संयुक्त इजलासले यही माघ ९ गते भद्रपुर नगरपालिका १० बस्ने प्रेमराज तिम्सिना र विकेन्द्र भन्ने भीमबहादुर सुब्बालाई छाड्न आदेश दिएको हो । उनीहरूसँग प्रति मुद्दा संख्या बराबर एक÷एक लाखका दरले प्रति व्यक्ति ९÷९ लाख रुपैयाँ धरौटी बुझी छोड्न आदेश दिएको हो । झापा जिल्ला अदालत भद्रपुरले यस अगाडीको आदेशलाई उल्टाउन उनीहरू उच्च अदालत पुगेका थिए ।
उच्च अदालतले लिम्बू र तिम्सिनालाई धरौटी लिएर छाड्न आदेश दिएबमोजिम यही माघ १५ गते धरौटी लिएर उनीहरूलाई रिहा गरिएको झापा जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर निरौलाले जानकारी दिए । अदालतको आदेशबमोजिम प्रहरीले पक्राउ गरी मुद्दा चलाइएका अन्य आरोपीको हकमा झापा अदालतको आदेशलाई नै उच्च अदालतले सदर गरेको निरौलाले बताए ।
पक्राउ गरी अदालत पेस गरिएका प्रतिवादी लिखदसम्बन्धी अपराधमा आठजना र कसुर मुद्दामा चारजना गरी १२ जना प्रतिवादी पुर्पक्षका लागि हाल झापा कारागारमा रहेका छन् । घटना संलग्न रहेका भद्रपुर ९ का वडा अध्यक्ष शनिलाल राजवंशीलगायत अन्य आरोपी अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूले नक्कली बाबुआमा बनेर गैरनेपालीलाई नागरिकता बनाई दिएका हुन् । जिल्ला प्रशासन कार्यालय झापाको २०७६ भदौ ८ गतेको जाहेरीले भुटा विवरण पेस गरी विदेशीलाई नेपाली नागरिचा दिलाएको शीर्षकभित्र प्रति आरोपी बराबर विभिन्न ९ वटा मुद्दा दर्ता गराइएको जनाइएको छ ।