चारपानेको रहस्यमय हत्यामा कुकुरले खोज्न थाल्यो हत्यारा
बिर्तामोड । झापाको चारपानेमा भएको रहस्यमय हत्याको घटनाबारे अनुसन्धान गर्न विशेषज्ञ कुकुर ल्याइएको छ । प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय धरानबाट ल्याएको विशेषज्ञ कुकुरले एक चरण खोजी गरेको छ । खोजीको क्रममा कुकुरले घटनास्थलबाट पूर्वपश्चिम राजमार्गसम्म पहिल्याएको थियो ।

परालको आगोभित्र भेटिएको शव अहिलेसम्म कसको भन्ने खुल्न सकेको छैन । तर, प्रहरी र स्थानीयबासीले एक मजदुर हराइरहेकोले त्यो शव उनैको भन्ने आशंका गरेका छन् । अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने बताए ।

चारपाने चोकदेखि दक्षिण करिव १ सय १५ मिटर क्षेत्रमा भएको घटना रहस्यमय बनेको छ । शव जलेको ठाउँदेखि केहि मिटर पूर्वमा लिङ्गको टुक्रासहित शरिरका विभिन्न अंग फेला परेपछि प्रहरीले त्यहाँ घेरा लगाएको छ । स्थानीयका अनुसार हराएका व्यक्ति सामान्य मजदुरी गर्दै आएका थिए । भारतीय नागरिक उनी नेपाली महिलासँग विवाह गरेर चारपाने क्षेत्र मै बस्दै आएको बुझिएको छ ।

कुकुरले पहिल्याउने क्रममा सडकमा निस्किएपछि हत्यारा त्यहिबाट भागेको अनुमान गरिएको छ । भारतीय नागरिकको हत्यामा कतै भारतीय नै हत्यारा हुन् कि भन्ने अड्कल काटिएको छ । कुकुर रोडसम्म आएर फर्किएको दृष्यले घटनामा भारतीयहरुकै संलग्नता रहेको हुन सक्ने अनुमान छ ।
घटनास्थल क्षेत्रमा रगतका धेरै दाग भेटिएका छन् ।
