Banner news

पूर्वाञ्चल गोल्डकप आयोजक जायोन क्लवले दिएन विजेतालाई १८ लाख ७५ हजार, एन्फामा उजुरी

पूर्वाञ्चल गोल्डकप आयोजक जायोन क्लवले दिएन विजेतालाई १८ लाख ७५ हजार, एन्फामा उजुरी


प्रदीप परियार

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ सकिएको ४ महिना बितेको छ । तर, त्यस गोल्डकपको उपाधि विजेता त्रिभूवन आर्मी क्लव र उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाडौंले अझै पुरस्कार वापतको रकम पाएका छैनन् । प्रतियोगिता आयोजना गर्ने जायोन क्लवले उपाधि विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

क्लवहरुले नगद पुरस्कार वापतको रकम नपाएपछि अखिल नेपाल फुटवल संघ (एन्फा) मा निवेदन दिएका छन् । त्रिभूवन आर्मी क्लवले निवेदन दिएपछि एन्फाले झापा जिल्ला फुटवल संघलाई पत्राचार गरेको छ । आयोजकलाई पुरस्कार वापतको रकम क्लवलाई उपलब्ध गराउन एन्फाले पत्र काटेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए । उनका अनुसार अब आयोजक जायोन क्लवले रकम उपलब्ध नगराए क्लवले कानुनी प्रक्रिया अघि बढाउन सक्नेछ । मामाले भने, आयोजकले चैत पहिलो हप्ताको भाका मागेको छ ।

फुटबल आयोजना गरेर चारैतिर ऋणमा परेको जायोन क्लवका कारण झापाको फुटबल आयोजकप्रति विश्वास नै गुम्ने खतरा बढेर गएको छ । विजेतालाई पटक–पटक भाका दिएको आयोजकले अहिलेसम्म झुलाइरहेको बुझिएको छ । विभिन्न समयको भाका माग्दै आएको आयोजकसँग उक्त रकम दिने बलियो आधार समेत नभएको चर्चा हुन थालेको छ ।

गोल्डकपको फाइनल गएको कात्तिक महिनाको २५ गते भएको थियो । सामान्य तयारीमा आयोजना गरिएको गोल्डकपमा दर्शकको आकर्षण पनि थिएन । जायोन क्लवका तर्फबाट गोल्डकप आयोजना गर्न भक्त खवास, मणि राई, दिपेन्द्र आछामी मुख्य भूमिकामा थिए । सो क्लवका कारण अन्य फुटबल प्रतियोगितालाई समेत असर पु¥याएको बताइन्छ ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले फुटबलका नाममा कसैले ठगि धन्दा गर्न नहुने बताएका छन् । उनले पूर्वाञ्चल गोल्डकपमा जायोनको बद्मासी भएको तर्क गरे । विजेता कसैलाई पनि आयोजकले आलटाल गर्न हुदैन, मामा भन्छन् – यो फटाई हो, यसले गर्दा झापालीलाई विश्वास नगर्न सक्छन् । गोल्डकप गर्नेले पुरस्कारको व्यवस्था गरेर मात्रै आयोजना गर्नुपर्ने उनको भनाई छ ।

आयोजक क्लवका अध्यक्ष भक्त खवासले विभिन्न कारणले पुरस्कार दिन नसकेको स्वीकार गरेका छन् । उनले अब केहि समयमै रकम उपलब्ध गराउने इजलाससित बताए । खवासले भने– ‘फेरि गोल्डकप गर्नेछौं । अस्तिको गेममा डुवियो, अब अर्को गेममा उक्सिन्छौं ।’

आर्मीका टिम म्यानेजर विकास मल्लले आयोजकले अहिलेसम्म पुरस्कारको रकम नदिएको जानकारी दिए । यसबारे एन्फासँग कुरा भइसकेको छ, हामीले जिल्ला फुटबलसँग पनि समन्वय गरिरहेका छौं , मल्लले भने ।

यस्तै आयोजक क्लवका सचिव दिपेन्द्र आछामीले केहि रकम विजेतालाई उपलब्ध गराएको बताएका छन् । उनले आगामी वर्षको दशैंमा राम्रोसँग गोल्डकप आयोजना गर्ने समेत जानकारी दिए । फुटबललाई व्यवसायिकरण गर्ने उद्देश्यले आयोजना गरेको पूर्वाञ्चल गोल्डकपमा सहयोग गर्ने दाताले रकम नदिएको कारण समस्या भइरहेको स्वीकार गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares