बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
नगरले १० वटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामग्री निकासा गरेको नगर प्रमुख ध्रुव शिवाकोटीले जानकारी दिनुभयो ।

ती सामग्री सवै वडामा लगत संकलन गरिएका व्यक्ति र परिवारलाई वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सम्वन्धित वडा अध्यक्षहरुले जानकारी दिएका छन् । नगरमा विपन्न र असहाय व्यक्तिहरुलाई पहिलो चरणमा ११ लाख ३ हजार ७ सय ९५ केजी चामल वितरण गरिने बताइएको छ ।
विर्तामोडले नगरपालिकामा गठन गरेको राहत कोषमा आजसम्ममा कुल ९७ लाख ७६ हजार ७ सय ४० रुपैयाँ जम्मा भएको छ ।
त्यसमध्ये नेपाल बहुद्देश्यीय साकोस , जीवन विकास लघुवित्त , पूर्व नेपाल वहुद्देश्यीय र नेकपा नगर कमिटीले जिन्सी सामग्री उपलब्ध गराएका छन् । यसै गरि अन्य ५५ संघ सस्था र व्यक्तिले नगद उपलव्ध गराएको जानकारी दिइएको छ । कोषमा नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेको थियो ।
यसै विच केहि संचार माध्यममा राहत सामग्री कम उपलब्ध गराइएको विषयमा आएको समाचार निराधार भएको दावी नगरपालिकाले गरेको छ । वडा नम्वर ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनले लगत उठाइएका व्यक्ति र परिवारलाई कार्यविधि अनुरुप नै राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले सर्वदलीय प्रतिनिधिको उपस्थितिमा तोकिए वमोजिमकै सामग्री उपलव्ध गराइएको र बाँकी रहेकालाई पनि सोहि वमोजिम वितरण भइरहेको बताउनु भयो ।







प्रतिक्रिया