मुस्लिम आयोगले माग्यो विदेशी जमातीको विवरण, बिर्तामोडमा रहेकालाई कलवलगुरी लगियो
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ ।
उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि आयोगले जमातीहरुको विवरण मागेको हो ।
मुस्लिम आयोगमा आइतबार बसेको बैठकले कुनै पनि मस्जिद र मदरसाहरुमा जमातीलाई नलुकाइएको प्रष्ट पारेको छ । जो मस्जिदमा छन्, उनीहरु स्थानीय प्रशासन र प्रहरीको निगरानीमा क्वारेन्टाइन्मा रहेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए ।
मुस्लिम धर्म प्रचारक जमातीहरुले कोरोना भाइरस संक्रमण फैलाएको भन्दै कतिपय ठाउँमा समुदायमाथि नै लान्छित गर्ने प्रयास भएपछि आयोगले आइतबार मुस्लिम सांसद र सबै दल आवद्ध मुस्लिम संगठनका नेताहरुसहितको सर्वपक्षीय बैठक राखेको अन्सारीले बताए ।
अन्सारीका अनुसार नेपालमा करीव एक सयको संख्यामा विदेशी जमातीहरु लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् । काठमाडौंको जोरपाटी र नयाँ बजारमा समेत केही जमातीहरु छन् । तर, उनीहरु कोही पनि लुकीछिपी नबसेको र प्रशासनको जानकारी रहेको अन्सारीको दाबी छ ।
समन्वय समिति गठन
बैठकले देशभरका मस्जिद र मदर्साहरुको अनुगमन तथा लडकाउन पूर्ण पालना गराउन सरकारलाई सघाउनका लागि अन्सारीकै संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय समन्वय समिति समेत गठन गरेको छ ।
समितिमा पूर्वमन्त्री जाकिर हुसैन, सांसद शेख चाँदतारा, मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार र धर्म गुरुहरु मौलाना खुर्सिद इस्लाही र खालिद सिद्धिकी सदस्य रहेका छन् ।
यस्ता समिति जिल्लामा पनि बन्ने र जिल्ला प्रशासन तथा प्रहरीसँग मिलेर लकडाउन पालना गर्न मस्जिद तथा मदरसाहरुमा पुग्ने उनले बताए । मुस्लिम समुदायकोे महान पर्व रमजान चाररपाँच दिनपछि नै आउन लागेकाले त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भिडभाड हुन नदिनका लागि अपील गरिने भएको छ ।
समिति गठनका बारेमा गृहमन्त्रालयमा जानकारी गराइएको र सबै जिल्ला प्रशासनमा समन्वय गरी मुस्लिम समुदायलाई लकडाउन पूर्ण पालना गराउन आह्वान गरिने अन्सारीले बताए
।
धर्मगुरुहरुलाई क्वारेन्टाइनमा
झापाको विर्तामोडमा रहेको अग्रसेन भवन पछाडिपट्टि रहेको मस्जिदमा रहेका मुस्लिम धर्मगुरुहरुलाई क्वारेन्टाइनमा लगिएको छ।
क्वारेन्टाइनमा लगिएकाहरु ८ जना भारतीय र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।
विगत केही दिनदेखि प्रहरीको उच्च निगरानीमा रहेका उनीहरुको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि समुदायको सुरक्षाका लागि पनि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।
उनीहरुलाई भद्रपुर–१० स्थित कलबलगुडी क्वारेन्टाइनमा लगिएको छ।
नेपालमा कोरोनाको संक्रमण जोखिम बढ्नुभन्दा अगाडि नै उक्त मस्जिदमा आएका उनीहरु दैनिक प्रार्थना गर्दै आएको बताइएको छ।
उदयपुरको एक मस्जिदमा बसेका मुस्लिम धर्मप्रचारकहरुमा कोरोना भाइरस पुष्टि भएसंगै झापामा पनि उच्च निरागानी बढाइएको थियो।