असार २, २०८२ सोमबार

तारा नमस्ते बालग्राममा आश्रित चौहानको समुदायमा पुनर्स्थापना

बिर्तामोड । तारा नमस्ते बालग्रामले एक जना अनाथ बालबालिकालाई समुदायमा पुनस्र्थापना गरेको छ । बिर्तामोड– ४ मा सञ्चालित बालग्रामले पहिलो पटक भावना चौहानलाई समुदायमा पुनस्र्थापना गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरी तारा नमस्ते बालग्रामले चौहानलाई ६ महिना पुग्ने आवश्यक खाद्यन्न, पलङ, डसना र आवश्यक सामग्रीसहित पुनस्र्थापना गरेको छ । उनलाई बालग्रामका अध्यक्ष नारायण प्रसाद पोखरेलले नगद २१ हजार रुपैयाँ समेत प्रदान गरेको थिए ।

०६९ मा स्थापना भएको बालग्रामले तत्कालिन चाइल्ड फ्युचर नामक अनाथ आश्रमबाट लगेर पालनपोषणसहित शिक्षाको व्यवस्था मिलाएको थियो । महेन्द्र रत्न माविबाट कक्षा १२ उर्तिण चौहान कनकाई आदर्श क्याम्पस बिर्तामोडमा स्नातक चौथो वर्ष अध्ययन गरिरहेकी छन् । चाइल्ड फ्युचर सञ्चालकहरुलाई मुद्धा लागेपछि त्यहाँका बालकालिकाहरुलाई तारा नमस्तेको जिम्मा लगाइएको थियो । जिम्मा लगाइएका बालबालिकामध्ये एक जना चौहान थिइन् ।

अनाथ आश्रमले बालबालिका पुनस्र्थापना कार्यविधि– २०८२ बमोजिम समुदायमा पुनस्र्थापना गरेको तारा नमस्तेकी व्यवस्थापक यशोदा चापागाईले जानकारी दिइन् । कक्षा १२ उर्तिर्ण वा १८ वर्ष उमेर पुरा भएपछि समुदायमा पुनस्र्थापना गर्नुपर्ने व्यवस्था थियो । कार्यविधि नबनेका कारण उनको पुनस्र्थापनामा ढिलाई भएको थियो ।

बिर्तामोड–५ स्थित गणपति वेकर्समा कार्यरत चौहानलाई कार्यस्थल नजिकै बसाईको व्यवस्थापन मिलाइएको उपाध्यक्ष यमनाथ विलमीले जानकारी दिए । उनका अनुसार हाल अनाथआश्रममा ३२ जना बालबालिकालाई आश्रय दिइएको छ । चौहानलाई समुदायमा पुनस्र्थापना भएपछि ३१ जना रहने बताए ।

स्थानीय गुरुप्रसाद आचार्यले उपलब्ध गराएको जमिनमा ३ तले भवनमा आश्रम सञ्चालित छ । आश्रमका ३१ जना अन्य बालबालिकाहरुलाई बिर्तामोडका निजी विद्यालयहरुले निशुल्क पठनपाठनको व्यवस्था मिलाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आश्रम सञ्चालन गर्नु सामान्य विषय नभएको बताए । आश्रम सञ्चालन गरेर बालबालिकाको हेरचाह र शिक्षाको व्यवस्था गर्नु सामाजिक रुपमा ठुलो योगदान भएको धारणा राखे । उनले पुनस्र्थापना गरिएकी चौहानको उज्वल भविष्यको कामना गरेका छन् ।

उक्त कार्यक्रममा जग्गादाता ओझा, बिर्तामोडका डिएसपी विजय श्रेष्ठ, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ आईतबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]