Banner news

दुई सातापछि एसइईको तयारी

दुई सातापछि एसइईको तयारी

Rajani Rai ( first row in right ) disabilities student of Khagendra New Life Special Secondary school participate in a first day of Secondary Education Exam at Chamunda Secondary School Jorpati Kathmandu on Thursday, March 16, 2017. The examination of English subject is being held across the Country. Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौं । शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।


मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका हुन् । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरे । अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित बस्ने गरी नजिक नजिक परीक्षा केन्द्र राख्नुपर्ने सुझाव पनि दिइएको छ । मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्पमा पनि राखिएको दाहालले जानकारी दिए ।

मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ । शिक्षाविद् डा.मनप्रसाद वाग्लेले भने विद्यार्थीको वार्षिक मूल्याङ्कनका आधारमा पनि ग्रेड निर्धारण गर्न सकिने भन्दै परीक्षा गर्नैपर्ने भएमा सामाजिक दुरी कायम गर्ने वा एकै दिन चारवटा मुख्य विषयको एकै लिएर बाँकी विषयको आन्तरिक मूल्याङ्कन गर्न सकिने सुझाए । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले माथिल्लो कक्षामा प्रवेश परीक्षा पनि लिइने भएकाले कक्षा १० को एसइई परीक्षालाई हाउगुजीका रुपमा कायम राखिराख्न नपर्ने तर्क राखे । उनले स्थानीय तहको समन्वयमा तीन दिनभित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा तीन दिनभित्र प्राप्ताङ्क तयार गर्न सकिने जानकारी दिए ।

एनसिई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बन्दाबन्दीका कारण विद्यार्थीहरुलाई मनोवैज्ञानिक समस्या परेको हुन सक्ने र तत्कालै परीक्षा सञ्चालन गर्दा थप मार पर्नेतर्फ पनि सोच्न आग्रह गरे ।  गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भएपनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो । सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares