भारतमा ‘भयावह’ बन्दै कोरोना : एकै दिन १७५ को मृत्यु, संक्रमित ४६ हजार नाघ्यो
नयाँदिल्ली, २३ बैसाख । छिमेकी देश भारतमा कोरोना संक्रमणले ‘भयावह’ रुप लिंदै गएको छ ।
भारतमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दिनहुँजसो बढ्न थालेको छ ।
भारतमा सोमबार एकै दिन हालसम्मकै बढी १७५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ ।

त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ । महाराष्ट्रमा झण्डै १३ हजार मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातमा पाँच हजार चारसय भन्दा बढी मानिस संक्रमित भएका छन् ।
राजधानी नयाँदिल्लीमा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । भारतका २७ वटा प्रान्तमा कोरोना संक्रमण देखिसकेको छ । संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ । तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन् ।
कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ । त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ ।