Banner news

बन्दाबन्दीमा पनि झापामा पूर्वाधार निर्माण

बन्दाबन्दीमा पनि झापामा पूर्वाधार निर्माण


झापा – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि झापामा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक निर्माणको काम अगाडि बढाइएको मेचीनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, “कोरोना महामारी नभएको भए अहिले पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनलाई पूर्ण पालना गर्दै अहिले मेचीनगर–२ र ४ लाई जोड्ने दुई हजार ६६० मिटरको सडक निर्माणको काम शुरु गरिएको छ ।

मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको रु सात करोड ४४ लाखको लागतमा सो सडकको निर्माण कार्य शुरु भएको हो । मेचीनगर–२ भृकुटीस्थित भानु माध्यमिक विद्यालय पूर्वबाट मेचीनगर–४ को राइसिङ पुलसम्मको सडक कालोपत्र, कल्भर्ट र सडक किनारमा ड्रेन निर्माण कार्य भइरहेको नगरपालिकाकी उपप्रमुख उप्रेतीले बताइन्

सो सडक निर्माणको स्थलगत अनुगमनमा आज नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खामम्याङ, प्राविधिक विकास लिम्बू र विशाल राजवंशीसहित पुगेकी उपप्रमुख उप्रेतीले सडक निर्माणमा कार्यरत ५० जना मजदुरलाई भौतिक दूरी कायम गरेर काममा लगाइएकोे बताइन् मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको ५०/५० प्रतिशतमा गरिएको निर्माण कार्यको ठेक्का रौताहा शान्ति जेभियर्सले लिएको छ । आर्थिक वर्ष २०७६/०७७ को असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई जिम्मा लगाउनुपर्ने सर्तअनुसार काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares