कोरोनाको प्रभाव जनगणनामा, नमूना जनगणना असारमा
काठमाडौँ । कोरोना सङ्क्रमण र लकडाउनका कारण रोकिएको नमूना जनगणना असारमा हुने सम्भावना रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालको बाह्रौँ राष्ट्रिय जनगणनाअन्तर्गत गत चैतमा सक्नुपर्ने पाइलट सेन्सस लकडाउनका कारण स्थगित भएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेका अनुसार गणना क्षेत्रमा कोरोनाभाइरसको त्रास बढ्नु र सरकारले लकडाउन गर्नु एकैपल्ट भएपछि चैत ९ गतेदेखि सुरु हुनुपर्ने गणना रोकिएको थियो ।
सरकारले यो चरणको जारी लकडाउन खुकुलो बनाएमा असारमा नमूना जनगणनाको गणनाकार्य सक्ने तयारी रहेको उहाँले बताउनुभयो । ‘पहाडी र हिमाली जिल्लामा सामाजिक दूरी कायम गरी गणना गर्न समस्या नरहेको गणकहरूले बताएका छन् । केही समस्या तराईमा रहे पनि सतर्कता अपनाएर गर्न सकिन्छ भन्नेमा उहाँहरू हुनुहुन्छ ।’ निर्देशक लामिछानेले भन्नुभयो ।
आगामी २०७८ असारमा हुने जनगणनाको तयारीको महत्वपूर्ण भाग नमूना जनगणना हो । यसका लागि विभागले गणक र सुपरीवेक्षक नियुक्त गरी तालिमसमेत दिइसकेको छ ।
लकडाउनपूर्व नै नमूना गणनाका लागि सुपरीवेक्षकहरूले घरपरिवार सूचीकरणको काम सकिसकेको र गणना मात्र बाँकी भएकोले सुरु गर्न पाएमा १५ दिनमा नै गणनाको काम सक्ने निर्देशक लामिछानेले बताउनुभयो ।
नमूना जनगणनाबाट मुख्य जनगणनाको सुधारात्मक कदमको तयारीका लागि सहयोगी हुनेछ । प्रश्नावलीको स्पष्टता, आउनसक्ने कठिनाइलगायत विषयमा नमूना जनगणनाको विशेष महत्व हुने निर्देशक लामिछानेले बताउनुभयो । विभागले प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा सञ्चालन गरिने नमूना जनगणना गरिनेछ । करिब ११ हजार ६१० घरपरिवारमा नमूना जनगणना सञ्चालन गरिने विभागले जनाएको छ ।
असार १ देखि गणना क्षेत्र नक्साङ्कन
राष्ट्रिय जनगणनाका लागि गणना क्षेत्र नक्साङ्कनको काम पनि लकडाउनका कारण प्रभावित भएको छ । यसअघि नै ८१ नगरपालिकामा गणना क्षेत्र नक्साङ्कन सकिएको विभागले जानकारी दिएको छ ।
लकडाउन खुकुलो भएको खण्डमा बाँकी स्थानीय तहको गणना क्षेत्र नक्साङ्कनको काम पनि असार १ गतेदेखि गर्ने तयारीमा विभाग रहेको निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । यस आर्थिक वर्षभित्र अन्य ३४ वटा नगरपालिकामा गणना क्षेत्र नक्सांकन गर्ने विभागको योजना थियो ।
केही समय प्रभावित भए पनि गणना क्षेत्र नक्साङ्कन गर्न घरघरै जान नपर्ने हुनाले लकडाउन खुकुलो भएमा सहजै गर्न सकिने उहाँले बताउनुभयो ।
जनगणना क्यालेन्डर असारभित्र सार्वजनिक
बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका समेटिएको क्यालेन्डर आउँदो असारमा सार्वजनिक गर्ने तयारी गरिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो । जनगणनाको कार्यतालिकालाई अहिलेसम्म लकडाउनले प्रभावित नगरेको भए पनि अझै दुई महिना अवस्था सामान्य नभएमा भने मुख्य कार्यतालिकालाई असर गर्ने उहाँको भनाइ छ ।
बाह्रौँ राष्ट्रिय जनगणना वि. स. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदैछ । यो जनगणना सङ्घीय नेपालको पहिलो जनगणना हो । सङ्घीयताको मर्मअनुसार अबको जनगणनामा वडास्तरसम्मको तथ्याङ्क निकालिने विभागले जनाएको छ ।
आगामी जनगणना सञ्चालनका लागि पहिलोपटक नपाल सरकारले राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ जारी गरेको छ ।