श्रावण ४, २०८२ शनिबार

भारतीयले सशस्त्र प्रहरीको हतियार खोसेपछि सर्लाहीको नारायणपुर नाकामा झडप, एकको मृत्यु

जनार्जन खत्री

सर्लाही, जेठ ३० गते । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

शुक्रबार बिहान भारतीयहरू नारायणपुर नाका हुँदै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोज्यो । त्यसक्रममा भारतीयहरू सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार नै खोसेर नेपालतर्फ आउन खोजेपछि झडप भएको हो । झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागी भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले गोरखापत्रलाई जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको छ । झडपमा भारतीयहरूले खोसेर लगेका हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभएको छ । झडप भएको स्थानमा अहिले व्यापक सुरक्षाकर्मी तैनाथ छन् । थप विवाद हुन नदिन सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वमणि पोखरेल आफैँ नारायणपुर नाका पुग्नुभएको छ ।

भारतीयहरू जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा केही दिनअघि सर्लाहीको विष्णु गाउँपालिकास्थित पकडी नाकामा पनि झडप भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  १ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]