Banner news

म्याच फिक्सिङ मुद्दामा सबै खेलाडीले पाए सफाइ

म्याच फिक्सिङ मुद्दामा सबै खेलाडीले पाए सफाइ


काठमाडौं। ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले विशेष अदालतकै फैसलालाई सर्वोच्चले सदर गरेको जानकारी दिनुभयो । विशेष अदालतले यसअघि पाँच जना खेलाडी र एक प्राविधिक गरी छ जनालाई उक्त अभियोगमा निर्दोष ठहर गर्दै २०७५ साल जेठ २४ गते सफाइ दिएको थियो ।
सरकारी अभियोजन पक्षले २०७५ मङ्सिर २० मा उक्त विशेषको फैसलालाई चुनौती दिँदै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको दाबीसहित विशेष अदालतमा पाँचै जना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा म्याच फिक्सिङ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्यविरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।

प्रहरीले पक्राउ गरेर मुद्दा चलाए लगत्तै नेपालमा फुटबल नियमन गर्ने निकाय एन्फा र सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले पाँचै जना खेलाडीलाई निलम्बन गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares