गौहत्यारा रोहवरमा छुटेपछि स्थिति सामान्य, मृतकलाई शहिद घोषणा गर्न माग
बिर्तामोड । झापा गाउँपालिका–३ कामाटोलीमा गौहत्या गर्नेलाई प्रहरीले रिहा गरेपछि स्थिति सामान्य बनेको छ । गौहत्या गर्नेहरुलाई पक्राउ गरेपछि स्थिति असामान्य बनेको थियो । गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीको रोहवरमा रिहाई गरिएको प्रहरीले जनाएको छ ।

सोही घटनाका कारण प्रहरीको गोली लागेर एक जनाको मृत्यु समेत भएको छ । बुधबार विहानै गौहत्या गरेको आरोपमा प्रहरीले टाउको र खुट्टा सहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले अवरोध गरेका थिए । प्रहरीमाथि आक्रमणसहित गाडिमा तोडफोड गरेपछि अवस्था झनै जटिल बनेको थियो ।
झडपको अवस्था बनेपछि प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि झनै आक्रामक बनेका मुस्लिम समुदायले राती अवेरसम्म टायर बालेर प्रदर्शन गरेका थिए । १० बुँदे माग राख्दै स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । समस्या समाधानका लागि बसेको सरोकारवालाको बैठकले रिहाई बाहेक कुनै मागमा छलफल गरेको छैन । आज जिल्ला प्रशासन कार्यालय झापामा स्थानीय सरोकारवालासँग थप छलफल गरेर समाधानमा अघि बढ्ने उपाध्यक्ष बुढाथोकीले जानकारी दिए ।
र, यो पनि : गाई काट्नेलाई पक्राउ गर्दा झापामा प्रहरीमाथि आक्रमण, घटनास्थल तनावग्रस्त
र, यो पनि : गौहत्या प्रकरणले तनाव बढ्यो, कामाटोलीमा मुस्लिम युवाद्वारा टायर बालेर प्रदर्शन